प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारी : ५०औं राज्य स्थापना दिवसको समापन समारोहमा सहभागिता

गान्तोक । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सम्मान भवनमा उच्चस्तरीय समन्वय बैठकको अध्यक्षता गर्दै यसै महिनाको अन्त्यमा हुने प्रधानम न्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीको समीक्षा र व्यवस्थितिका लागि छलफल गरेका छन्।
बैठकमा मुख्यमन्त्री तामाङले यो भ्रमण सिक्किमका जनताका लागि अपार गौरव र खुशीको क्षण भएको बताउँदै सिक्किम राज्य स्थापनाको ५०औं वार्षिकोत्सवको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने जानकारी दिए। यस अवसरको महत्वलाई ध्यानमा राख्दै उनले सबै व्यवस्थाहरू उच्चतम दक्षता, मर्यादा र उत्कृष्टताका साथ हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्रीले लजिस्टिक्स, सुरक्षा व्यवस्था र समग्र कार्यक्रमको ढाँचासहितको तयारीको समीक्षा गरे। अन्तर–विभागीय समन्वय, जिम्मेवारीको समयमै कार्यान्वयन, र सिक्किमको न्यानोपन तथा आतिथ्यताको स्थायी सम्पदालाई कायम राख्न विस्तृत छलफल भएको थियो। मुख्यमन्त्रीले सम्बन्धित सबै विभागहरूलाई नजिकको समन्वय कायम राख्दै भ्रमणको प्रत्येक पक्ष सहज र सफलतापूर्वक सञ्चालन गर्न स्पष्ट निर्देशन दिएका छन्।

बैठकमा प्रधानमन्त्री मोदीद्वारा उद्घाटन गरिने प्रमुख परियोजनाहरू र सिक्किमभरि विभिन्न महत्वपूर्ण पहलहरूको शिलान्यास समारोहबारे पनि छलफल भएको थियो। बैठकमा लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बा, राज्यसभा सांसद डी.टी. लेप्चा, विधानसभा अध्यक्ष एम.एन. शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रिपरिषद्का मन्त्री तथा विधायकहरू, मुख्य सचिव र राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।






