१७ बैशाख २०८३, बिहीबार

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग हरियाणाका विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थीको भेट

गान्तोक । सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग आज हरियाणाको गुरु जाम्भेश्वर विश्वविद्यालय, हिसारको भूगोल विभागका संकाय सदस्य तथा विद्यार्थीहरूले लोकभवनमा शिष्टाचार भेट गरेका छन्। यो समूह हाल भूगोल विभागद्वारा आयोजित एक साताको शैक्षिक भ्रमणमा सिक्किम आएको छ। अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले सिक्किमको विशिष्ट भौगोलिक विशेषताहरू, समृद्ध सांस्कृतिक सम्पदा र जैविक विविधतासँग सम्बन्धित प्रश्नहरू सोधेका थिए। राज्यपाल माथुरले ती प्रश्नहरूको विस्तृत रूपमा जवाफ दिए।

राज्यपाल माथुरले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पूर्वोत्तर राज्यहरूलाई ‘अष्टलक्ष्मी’ को संज्ञा दिएको उल्लेख गर्दै सिक्किम भारतको सांस्कृतिक र प्राकृतिक समृद्धिको अनुपम प्रतीक रहेको बताए। उनले प्रतिकूल परिस्थितिहरूको बावजुद स्थानीय मानिसहरूले आफ्नो संस्कृतिलाई संरक्षित राखेको र तिनीहरू प्रकृतिको पूजा गर्ने र पर्यावरण संरक्षणप्रति अत्यन्त सकारात्मक दृष्टिकोण राख्ने बताए। राज्यपालले राज्य सरकारको ‘मेरो रुख मेरो सन्तान’ पहलको प्रशंसा गर्दै जसअन्तर्गत प्रत्येक बालकको जन्ममा रुख रोप्ने र तिनको हेरचाह गर्ने परम्परा रहेको जानकारी दिए। उनले सिक्किम प्रदूषणमुक्त राज्य भएको र स्वच्छता यहाँको जीवनको अभिन्न अंग रहेको पनि बताए।

राज्यपाल माथुरले विद्यार्थीहरूलाई सिक्किमका यी राम्रा अभ्यासहरू आफ्नो राज्य हरियाणामा पनि अपनाउन आग्रह गर्दै उनीहरूलाई विकसित भारत @ २०४७ को अग्रदूत समेत बताए। विश्वविद्यालयका संकाय सदस्यले यो शैक्षिक भ्रमण केवल सिक्किम भ्रमण मात्र नभई पढाइलाई व्यावहारिक ज्ञानसँग जोड्ने एक अनुपम अवसर रहेको बताए। विद्यार्थीहरूले यहाँको जलवायु, जैविक विविधता संरक्षण, दिगो विकास र वातावरणमैत्री जीवनशैली प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाइरहेको उनले उल्लेख गरे।

गुरु जाम्भेश्वर विश्वविद्यालयका संकाय सदस्य र विद्यार्थीहरूले राज्यपाल माथुरलाई प्रेरणादायी मार्गदर्शनका लागि हार्दिक आभार व्यक्त गरे। समूहले यहाँको जलवायुको प्रत्यक्ष अनुभव लिन उच्च उचाइ भएका क्षेत्रहरूको भ्रमणको निवेदन गरेको थियो, जसका लागि लोकभवनले पूर्ण सहयोगको आश्वासन दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button