पूर्वअर्थमन्त्री खनालको भनाइ : ‘सम्पत्ति विवरण मात्रले आर्थिक इमानदारी पुष्टि गर्दैन, कर विवरण हेर्नुपर्छ’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा अर्थसचिवसमेत रहेका रामेश्वर खनालले सम्पत्ति विवरणलाई पूर्ण रूपमा विश्वासिलो मान्न नसकिने बताएका छन्। बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरूले हिजो सार्वजनिक गरेको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया आइरहेका बेला खनालले आफ्नो धारणा राखेका हुन्।
फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘सम्पत्ति विवरणहरू प्रायः कम विश्वसनीय हुन्छन्। तर, आन्तरिक राजस्व कार्यालयमा पेश गरिएका आय विवरण र कर चुक्ता प्रमाणपत्रले आर्थिक इमानदारिता मूल्याङ्कन गर्न सकिन्छ। यसले अधिक विश्वास, पारदर्शी र प्रमाणितको गतिलो आधार प्रदान गर्छ।’ खनालको यो धारणाले सम्पत्ति विवरण मात्रै नभई कर विवरणको समेत परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। अहिले सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्ति विवरणको विषय तीव्र रूपमा चर्चित छ। यसैबीच, पूर्वअर्थमन्त्री खनालको यो टिप्पणीले विषयलाई थप बहसमा ल्याएको छ।





