लाभरोभ आजदेखि चीनको औपचारिक भ्रमणमा
वाङ यीसँग युक्रेन र मध्यपूर्व सङ्कटसहित द्विपक्षीय सहकार्य र अन्तर्राष्ट्रिय समन्वयका विविध पक्षमा गहन छलफल हुने

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आज अप्रिल १४ देखि १५ सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गर्ने कार्यक्रम रहेको छ।
दुई विदेशमन्त्रीबीच द्विपक्षीय सहकार्यका विविध पक्षहरू, विभिन्न तहमा हुने सम्पर्कका सम्भावनाहरू र अन्तर्राष्ट्रिय मञ्चमा हुने समन्वयका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यस क्रममा संयुक्त राष्ट्रसङ्घ, ब्रिक्स, साङ्घाई सहयोग सङ्गठन (एससीओ), जी-२०, एपेक र अन्य बहुपक्षीय संयन्त्र तथा मञ्चहरूमा हुने संयुक्त कार्यमा विशेष ध्यान केन्द्रित गरिनेछ।
यसैगरी, युक्रेनी सङ्कट र मध्यपूर्वको परिस्थितिलगायत विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा पनि दुई मन्त्रीबीच गहन विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ





