भारतको शैक्षिक भ्रमणमा पोखराका २९ विद्यार्थी
सेनाको सूर्य कमान्डदेखि अयोध्यासम्म, अनुशासन र साहसको पाठ सिक्दै

काठमाडौं । नेपाल भारत मैत्री विद्यालय (एनबीएमभी), पोखराका २९ जना विद्यार्थी र पाँच जना शिक्षक/कर्मचारीहरूको एक प्रतिनिधिमण्डल १२ दिने शैक्षिक भ्रमणका लागि भारत प्रस्थान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासको सहजीकरणमा आयोजित यस भ्रमणका क्रममा प्रतिनिधिमण्डलले गोरखपुर, वाराणसी, प्रयागराज, अयोध्या र लखनउको यात्रा गर्नेछ।

भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न विद्यार्थी आदानप्रदान कार्यक्रमहरूमा सहभागिता जनाउने, सेनाका पब्लिक स्कूलहरूको भ्रमण गर्ने तथा सेनाको प्रशिक्षण केन्द्रहरू र सूर्य कमान्डमा अन्तर्क्रियात्मक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। यस क्रममा उनीहरूले अनुशासन र साहसका मूल्यहरू आत्मसात गर्दै भारतको शैक्षिक परिवेश र मूल्य मान्यताबारे बहुमूल्य ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।

यो शैक्षिक भ्रमणले दुई देशबीचको जनस्तरको सम्बन्ध र युवा आदानप्रदानलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।






