प्रधानमन्त्रीसँग रास्वपा सांसदको गुनासो : ‘गृहमन्त्रीले समन्वय गर्दैनन्, जेनजी पक्राउ र राजीव गान्धी प्रसङ्ग उठाए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा आज प्रधानमन्त्री शाहले बागमती प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा रास्वपा सांसदहरूले गृहमन्त्री गुरुङले आफूहरूसँग समन्वय नगरेको भन्दै आलोचना गरेका हुन्।
काभ्रेपलाञ्चोक-१ का सांसद मधु चौलागाईंले गृहमन्त्री गुरुङ केही दिनअघि रोशी खोला क्षेत्रको निरीक्षणमा जाँदा स्थानीय जनप्रतिनिधिसँग कुनै समन्वय नगरेको विषय उठाए। उनले भने, “भविष्यमा मन्त्रीहरूले निर्वाचन क्षेत्रमा जाँदा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउनुपर्यो।”
यस्तै, धादिङ निर्वाचन क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले गृहमन्त्रीले जेनजी आन्दोलनका सहभागीहरूलाई पक्राउ गर्न दिएको निर्देशनप्रति प्रश्न उठाइन्। उनले स्थानीय क्षेत्रको सांसदलाई जानकारी नदिई त्यस्ता निर्देशन दिनु उचित नभएको सन्दर्भ उठाइन्।
स्रोतका अनुसार छलफलमा सांसद चौलागाईंले भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्याको प्रसङ्ग पनि उठाएका थिए। सम्बन्धित निर्वाचन क्षेत्रका जनप्रतिनिधिलाई आफ्नो क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी नगराउँदा भारतमा झण्डै तीन दशकअघि राजनीतिक नेतृत्वको हत्या भएको उनको जिकिर थियो। प्रधानमन्त्री शाहले भने यस्ता कुनै पनि जिज्ञासाको जवाफ नदिई लिखित सुझाव मागेको बुझिएको छ।





