‘फलोअर्स पनि सम्पत्ति ?’ : रास्वपा मन्त्रीहरूको सम्पत्ति विवरणप्रति जनस्तरमा तीव्र टीकाटिप्पणी, प्रश्नको जवाफ माग्दै सर्वसाधारण

काठमाडौं । रास्वपा नेतृत्वको सरकारका मन्त्रीहरूले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणप्रति जनस्तरमा तीव्र टीकाटिप्पणी भइरहेको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहसमा समेत यसले ठूलो चर्चा पाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालका फलोअर्सलाई पनि सम्पत्तिको रूपमा उल्लेख गरेपछि त यसले थप बहस जन्माएको छ। ‘के फलोअर्स पनि सम्पत्ति हो ?’ भन्ने प्रश्न सर्वसाधारणले उठाइरहेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख नगद रहेको र त्यसको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटीफाई जस्ता सामाजिक सञ्जालबाट प्राप्त आम्दानी भएको जनाएका छन्। उनले आफ्नो सम्पत्तिमा ४० लाख फेसबुक फलोअर्स, युट्युब र ट्वीटरका फलोअर्सको संख्या पनि उल्लेख गरेका छन्। सार्वजनिक पदमा रहेको कुनै व्यक्तिले यसरी फलोअर्सलाई सम्पत्ति देखाएको यो पहिलो उदाहरण हो।
सामाजिक सञ्जाल प्रयोगकर्ता राजन पौडेलले भने, ‘फलोअर्सलाई सम्पत्ति भन्ने चलन कहाँबाट सिकियो ? फलोअर्सले महिनौंको तलब दिँदैन, भाडा तिर्दैन, खाना खुवाउँदैन। यसलाई सम्पत्ति देखाउनु हास्यास्पद हो।’ अर्का प्रयोगकर्ता सिर्जना अधिकारीले भनिन्, ‘मेयर हुँदा र प्रधानमन्त्री हुँदा प्राप्त पारिश्रमिकको किन उल्लेख गरिएन ? सार्वजनिक पदमा रहेर कमाएको पैसा भन्दा फलोअर्स ठूलो सम्पत्ति भयो ?’
मन्त्रीहरूको सम्पत्तिमा देखिएको सुनको मात्राले पनि व्यापक टीकाको विषय बनेको छ। उद्योगमन्त्री गौरीकुमारीले १८० तोला, प्रधानमन्त्री बालेन्द्र शाहले १९० तोला, गृहमन्त्री सुधन गुरुङले ८९ तोला, श्रममन्त्री रामजी यादवले ८० तोला सुन रहेको विवरणमा उल्लेख छ। सर्वसाधारणले यति ठूलो मात्रामा सुन हुनुको स्रोतबारे प्रश्न उठाइरहेका छन्।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी पूर्वप्रमुख पद्मिनी प्रधानांगले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो अभ्यास भए पनि उब्जेका प्रश्नको जवाफ दिनुपर्ने बताइन्। ‘भर्खरैका युवासँग करोडौंको जग्गा, सुन र नगद देखिएको छ। त्यसले मानिसहरू छक्क परेका छन्। केही मन्त्रीको सम्पत्ति अलि अस्वाभाविक पनि देखियो,’ उनले भनिन्, ‘सम्पत्ति विवरण सार्वजनिक गरेर असल अभ्यास थालेको सरकारले यत्रो सुन, जग्गा र पैसा कहाँबाट आयो, त्यसको वैध स्रोत र कर तिरेको प्रमाण दिन पनि मन्त्रीहरूलाई भन्न सक्नुपर्छ।’
पूर्वअर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति विवरण मात्रै नभई आन्तरिक राजस्व कार्यालयमा पेस गरिएको आय विवरण र कर चुक्ताका प्रमाण बढी विश्वसनीय हुने टिप्पणी गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘सम्पत्ति विवरणहरू प्रायः कम विश्वसनीय हुन्छन्। तर, आन्तरिक राजस्व कार्यालयमा पेस गरिएका आय विवरण र कर चुक्ता प्रमाणपत्रले आर्थिक इमानदारिता मूल्याङ्कन गर्न सकिन्छ।’
वरिष्ठ पत्रकार किशोर श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘गैरकानुनी नै भए पनि वा हुँदा खाने निर्दोष मतदाताका सामु आफूलाई पहिलेदेखि नै हुने खाने देखाउनकै लागि भए पनि कतिपयले भएभरको सम्पत्ति विवरण छरपस्ट पारिदिए। हाम्रो गाउँले भाषामा भन्दा आन्द्राभुँडी खोलिदिए। यसरी आन्द्राभुँडीको बिस्कुन छर्नेले अब त्यसबाट जन्मिसकेको वा उत्पन्न हुने क्रममा रहेको सामाजिक वा राजनीतिक रोग निको पार्ने उपाय पनि अपनाउन्।’
सुशासन अभियन्ता दीपेश घिमिरेले सरकार गठनको दुई सातामै सम्पत्ति विवरण सार्वजनिक गर्नु सकारात्मक भए पनि मन्त्रीहरूले आफ्नो सम्पत्तिको स्रोत र कर विवरण खुलाउनुपर्ने बताए। ‘मुख्य प्रश्न सम्पत्तिहरू करको दायराभित्र छ कि छैन भन्ने हो,’ उनले भने।
सामाजिक सञ्जालमा मन्त्रीहरूको सम्पत्तिलाई लिएर व्यापक ‘ट्रोल’ भइरहेको छ। कतिपयले यसलाई ‘आत्मघाती विवरण’ समेत भनेका छन्। अर्कोतर्फ, अघिल्ला सरकारले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै अहिलेको सरकारको यो कदमलाई केहीले सकारात्मक रूपमा पनि लिएका छन्। तर, उब्जेका प्रश्नको जवाफ नदिएसम्म यो विवाद कम हुने देखिँदैन। जनताको माग छ– अब मन्त्रीहरू आफै अग्रसर भई आफ्नो सम्पत्तिको स्रोत र कर विवरण सार्वजनिक गरून्।





