फागुन २१ : नयाँ जनादेशको ऐतिहासिक सुरुआत, सल्यानमा उम्मेदवार मल्लद्वारा पहिलो मतदान

सल्यान — आज फागुन २१, देशको लोकतान्त्रिक यात्रामा अर्को ऐतिहासिक अध्याय लेखिने दिनका रूपमा स्मरणीय बनेको छ। देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा प्रारम्भ भएको छ भने नागरिकहरू उत्साहपूर्वक मतदान केन्द्रतर्फ अग्रसर भइरहेका छन्।

यसैक्रममा सल्यान जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश मल्लले कुमाख गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय, झारकाँडा मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका छन्। बिहानै मतदान केन्द्रमा पुगेर उनले पहिलो मत खसालेका हुन्।

निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा उल्लेख गर्दै मल्लले जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले सबै मतदातालाई कुनै दबाब, प्रभाव वा प्रलोभनबिना निर्धक्क रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो अधिकार प्रयोग गर्न हार्दिक अपिल गरेका छन्।

“तपाईंको एक मतले राष्ट्र निर्माणको अभियानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,” उनले भने।

देश राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेका बेला जनताको मतले अबको शासन–दिशा र नीतिगत प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ। सल्यानसहित देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन आयोगका अनुसार हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

रमेश मल्ल नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सल्यानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button