९ बैशाख २०८३, बुधबार

‘संविधानका शिल्पीप्रति सच्चा श्रद्धाञ्जलि भनेको समावेशी समाज निर्माण हो’ : सिक्किमका राज्यपाल

गान्तोक, सिक्किम — भारत रत्न डा. भीमराव आम्बेडकरको १३५औँ जयन्तीको पावन अवसरमा सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरले राज्यवासीहरूका नाममा औपचारिक सन्देश जारी गर्नुभएको छ। लोकभवनबाट जारी उक्त सन्देशमा राज्यपालले बाबासाहेबको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै प्रदेशको सांस्कृतिक विविधतालाई संवैधानिक मूल्यसँग जोड्न आग्रह गर्नुभएको छ।

राज्यपाल माथुरले आफ्नो सन्देशको प्रारम्भमा भन्नुभएको छ, “भारतीय संविधानका शिल्पकार तथा सामाजिक न्यायका पुरोधा, भारत रत्न डा. भीमराव आम्बेडकरजीको १३५औँ जयन्तीको अवसरमा सम्पूर्ण सिक्किमवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।”

उहाँले बाबासाहेबको मूल दर्शनलाई उद्घृत गर्दै भन्नुभयो, “बाबासाहेबको दृढ विश्वास थियो कि राष्ट्रको वास्तविक प्रगति तब मात्र सम्भव छ जब सम्पूर्ण समाज एकजुट भएर कार्य गर्दछ। एक समावेशी समाजको निर्माण गर्न उहाँले गर्नुभएको अथक प्रयास र अटुट प्रतिबद्धता आफैंमा एउटा अनुपम उदाहरण हो।”

राज्यपाल माथुरले डा. आम्बेडकरले सदैव समाजको पिछडिएको तथा वञ्चित वर्गलाई राष्ट्रिय मूलधारमा ल्याउन गरेको संघर्षको स्मरण गराउनुभयो। सन्देशमा भनिएको छ, “उहाँको योगदानले भारतीय समाजमा समता, ममता र एकताको सुदृढ जग बसाल्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।”

सिक्किमको भौगोलिक तथा जनसांख्यिक स्वरूपको सन्दर्भ उल्लेख गर्दै राज्यपालले भन्नुभयो, “हाम्रो प्रिय राज्य सिक्किम विविध संस्कृतिहरूको साझा घर हो, जहाँ हरेक समुदाय आफ्नो विशिष्ट संस्कृति, भाषा र परम्पराका साथ सद्भावपूर्ण ढंगले बसोबास गर्दछन्। यो विविधता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो।” उहाँले सिक्किमको यस विशेष पहिचानलाई थप सुदृढ बनाउनका लागि बाबासाहेबका आदर्शहरूलाई दैनिक जीवनमा आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

सन्देशको अन्त्यमा राज्यपाल माथुरले सम्पूर्ण नागरिकलाई एक सामूहिक संकल्पका लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “यस अवसरमा म समस्त नागरिकलाई आह्वान गर्दछु कि हामी सबै मिलेर बाबासाहेबका आदर्शहरूलाई जीवनमा उतार्ने, सामाजिक समरसतालाई प्रवर्द्धन गर्ने र हाम्रो संविधानमा निहित मूल्यमान्यताको रक्षा गर्ने दृढ संकल्प गरौं।”

राज्यपालले अन्त्यमा भन्नुभयो, “आइए, हामी सबै मिलेर बाबासाहेबले देख्नुभएको सपनाको भारत निर्माणमा योगदान गरौं, एउटा यस्तो भारत जो न्यायपूर्ण, समतामूलक र सबैका लागि अवसरले भरिपूर्ण होस्। यही नै उहाँप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जलि हुनेछ।” उहाँले ‘जय हिन्द’को उद्घोषका साथ सन्देशलाई टुङ्ग्याउनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button