७ बैशाख २०८३, सोमबार

ड्युटी सकेर कोठा फर्कँदै गरेका ट्राफिक इन्स्पेक्टरलाई ट्रकले ठक्कर दिँदा मृत्यु

काठमाडौं, — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार साँझ कार्यालयको काम सकेर तारकेश्वर नगरपालिकास्थित फुटुङतर्फ आफ्नो कोठामा फर्कने क्रममा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लामाले चलाएको बा.प्रा. ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.प्रा.०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको हो। घटनास्थल तारकेश्वर क्षेत्रमा पर्छ।

दुर्घटनामा प्रहरी निरीक्षक लामाको टाउको, हातखुट्टा, अनुहार, छाती तथा शरीरका विभिन्न भागहरूमा गहिरो चोट लागेको थियो। घाइते अवस्थामा उनलाई तत्काल उद्धार गरी बी एन्ड बी अस्पताल पुर्याइएको थियो। तथापि, उपचारकै क्रममा मंगलबार दिउँसो उनको निधन भएको प्रवक्ता सुवेदीले जानकारी दिए।

प्रहरी निरीक्षक लामा सन् २०७२ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए। पछि खुला प्रतिस्पर्धामार्फत उनले प्रहरी सहायक निरीक्षक (असई) पद हासिल गरे भने पुनः अर्को खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका थिए। हाल उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गतको मानव स्रोत व्यवस्थापन शाखा, रामशाहपथमा कार्यरत थिए।

यसैबीच, ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ स्थायी घर भएका ३८ वर्षीय आइतराम मोक्तान रहेको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button