मनाङमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

मनाङ, — मनाङ जिल्लाको नासोँ गाउँपालिका–३ धारापानीस्थित सडकखण्डमा आज बिहान मालवाहक ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार मृतक चालक मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचा निवासी अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि सिमेन्ट लोड गरी बेँसीसहरबाट मनाङको कोतोतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ क ०४६१ नम्बरको ट्रक आज बिहान करिब १० बजेको समयमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। उक्त दुर्घटनामा परी चालक गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
घटनापश्चात् प्रहरी टोली घटनास्थलमा पुगी आवश्यक प्रक्रिया अघि बढाएको छ। मृतक गुरुङको शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।





