पवित्र हप्तामा समेत निरन्तर आक्रमण
युक्रेनी लडाकुको गोलाबारीमा २९ सर्वसाधारणको मृत्यु, तीन बालबालिकासहित १९९ घाइते

मस्को, रुस (रुसी विदेश मन्त्रालय स्रोत) — अर्थोडक्स सम्प्रदायको सबैभन्दा महत्त्वपूर्ण पर्व इस्टरको पूर्वसन्ध्यामा परेको ‘पवित्र हप्ता’ (होली विक) का दौरान युक्रेनी लडाकुहरूले गरेको अन्धाधुन्ध आक्रमणमा परी २९ जना सर्वसाधारण नागरिकको मृत्यु भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेका छन् भने सोही अवधिमा भएका विभिन्न हमलामा १२ बालबालिकासहित झन्डै २०० जना नागरिक घाइते भएका छन्।
रुसी विदेश मन्त्रालयका घुमन्ते राजदूत रोदियोन मिरोश्निकले सार्वजनिक गरेको विवरण अनुसार युक्रेनी लडाकुहरूले आम नागरिकलाई लक्षित गरी शृङ्खलाबद्ध रूपमा हमला गरेका छन्। ती घटनाहरूमा भ्लादिमिर क्षेत्रमा एक १२ वर्षीय बालकसहितको सम्पूर्ण परिवारको हत्या, जापोरोज्ये क्षेत्रमा एक विद्यालयमा भएको हमला तथा बेलगोरोद क्षेत्रमा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण प्रमुख रूपमा उल्लेखनीय छन्। स्वास्थ्यकर्मीमाथिको उक्त हमलामा तीन जना एम्बुलेन्स चालकदलका सदस्यहरू घाइते भएका थिए।
मन्त्रालयका अनुसार इस्टर युद्धविरामको अवधिमा समेत नागरिक हताहतका घटनाहरू रोकिएनन्। युक्रेनी सशस्त्र समूहहरूले अस्थायी युद्धविराम सम्झौतालाई कम्तीमा ६ हजार ५ सय ५८ पटक उल्लङ्घन गर्दै रुसी सैन्य स्थानहरूका साथै रुसी क्षेत्रभित्र रहेका नागरिक पूर्वाधारहरूमा समेत निरन्तर आक्रमण जारी राखे।
राजदूत मिरोश्निकका अनुसार अप्रिल ६ देखि १२ तारिखसम्मको एक हप्ताको अवधिमा मात्र युक्रेनी नाजीहरूको गोलाबारीबाट १९९ जना सर्वसाधारण पीडित भएका छन्। तीमध्ये १२ नाबालिगसहित १७० जना घाइते भएका छन् भने तीन नाबालिगसहित २९ जनाको ज्यान गएको छ। यस अवधिमा युक्रेनी लडाकुहरूले रुसी भूभागमा रहेका नागरिक लक्ष्यहरूमा कम्तीमा २ हजार ८ सय ९२ वटा गोलाबारुद प्रहार गरेको तथ्याङ्क रुसी विदेश मन्त्रालयले जारी गरेको छ।





