९ बैशाख २०८३, बुधबार

क्योङ्सा सेवा सङ्गठनको रजत जयन्ती समारोहमा मन्त्री लिम्बू सहभागी, भेट्रान फुटबलको उपाधि विधायक टोलीलाई

ग्यालसिङ, सिक्किम — सिक्किम सरकारका भवन तथा आवास र श्रम विभागका मन्त्री एवं ०२-याङथाङ निर्वाचन क्षेत्रका क्षेत्रीय विधायक भीम हाङ लिम्बूले क्योङ्सा सेवा सेवा सङ्गठन (केएसएसएस) को २५औं रजत जयन्ती समारोहको समापन कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सुशोभित गरेका छन्। ग्यालसिङस्थित क्योङ्सामा आज सम्पन्न उक्त कार्यक्रममा खण्ड विकास अधिकारी, बजार अधिकारी, सम्बन्धित क्षेत्रका पञ्चायत प्रतिनिधि तथा सङ्गठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लिम्बूलाई सङ्गठनका पदाधिकारीहरूले परम्परागत खादा ओढाएर भव्य स्वागत गरेका थिए। कार्यक्रमको सुरुवात औपचारिक दीप प्रज्वलनबाट भएको थियो भने आम्बेडकर जयन्तीको पावन अवसर पारेर डा. भीमराव आम्बेडकरको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो। २५ वर्षको ऐतिहासिक उत्सवमा सहभागिता जनाएबापत आयोजकले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए।

खेलकुदतर्फ पुरुष भेट्रान फुटबलको फाइनल खेल सुनाखरी समाज टिक्जेक र विधायक याङथाङ टोलीबीच भएको थियो। निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा विधायक याङथाङ टोलीले उपाधि हात पारेको छ। यसका अतिरिक्त कार्यक्रममा डोरी तान्ने प्रतियोगिता, बोरा दौड, मिठाइ टिप्ने, बल पास गर्ने र बेलुन फुटाउने जस्ता मनोरञ्जनात्मक खेल गतिविधिहरू समेत सञ्चालन गरिएका थिए।

रजत जयन्ती समारोहलाई थप रौनकता प्रदान गर्न विभिन्न सांस्कृतिक नृत्य प्रस्तुतिहरू पनि प्रदर्शन गरिएका थिए। यसैगरी, पुरुष खुला फुटबल प्रतियोगिताको फाइनल खेल युनाइटेड ब्रदर्स र बुद्ध रिबर्नबीच भएको थियो। समापन समारोहमा विभिन्न विधाका विजेता खेलाडी तथा टोलीहरूलाई ट्रफी र पुरस्कार वितरण गर्दै कार्यक्रमको औपचारिक रूपमा समापन गरिएको मन्त्री लिम्बूको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button