१ बैशाख २०८३, मंगलवार

आठ महिनामै साढे ६ हजार मुद्दा दर्ता, काठमाडौं अपराधको ‘खुला रंगभूमि’ बन्दै

काठमाडौं, वैशाख १ — संघीय राजधानी काठमाडौं पछिल्लो समय अपराधको केन्द्रको रूपमा स्थापित हुँदै गएको तथ्यांकले देखाएको छ। अपराधका घटनामा आएको वृद्धिसँगै काठमाडौं प्रहरी परिसर र मातहतका कार्यालयहरूमा मुद्दाको चाप ह्वात्तै बढेको छ। चालु आर्थिक वर्ष २०८२–८३ को हालसम्मको आठ महिनाको अवधिमा मात्र परिसरमा ६ हजार ६ सय ११ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भइसकेका छन्। यस हिसाबले दैनिक सरदर २५ देखि ३० वटा नयाँ मुद्दा दर्ता हुने गरेको देखिन्छ।

उपलब्ध तथ्यांकलाई केलाउँदा मुद्दाको सूचीमा सबैभन्दा माथि बैंकिङ कसुर रहेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दा बर्सेनि दोब्बर दरले बढिरहेको अवस्थामा चालु आर्थिक वर्षको आठ महिनामा मात्र २ हजार ८ सय १७ वटा यस्ता मुद्दा दर्ता भएका छन्।

दोस्रो स्थानमा अभद्र व्यवहार सम्बन्धी मुद्दा रहेका छन् भने यसको संख्या ९ सय २ रहेको छ। यसैगरी ठगी का ३ सय ८२, भवितव्य ज्यान का २ सय ९२, चोरी का ५ सय ६६, आत्महत्या का १ सय ६८, आत्महत्या दुरुत्साहन का ९, जबरजस्ती करणी का १ सय ४० तथा जबरजस्ती करणी उद्योग का ११ वटा मुद्दा दर्ता भएको प्रहरी परिसरले जनाएको छ।

त्यसैगरी अन्य मुद्दाहरूमा कर्तव्य ज्यान का ९, कुटपिट अंगभंग का ११, सवारी चोरी का ६५, जुवा का ३१, ज्यान मार्ने उद्योग का ७२, बहुविवाह का २९, बालयौन दुरूपयोग का २३, मानव बेचबिखन का ४, सवारी ज्यान का ६८, सवारी अंगभंग का ४९, सहकारी ठगी का ११, हातहतियार खरखजाना का २८, राहदानी ऐन का ३७, ज्यानसम्बन्धी कसुर (कंकाल) का २ लगायतका उल्लेखनीय छन्।

प्रहरी स्रोतका अनुसार काठमाडौं अपराध गर्नेहरूका लागि ‘खुला मैदान’ जस्तै भएको छ। मुद्दाको चाप अत्यधिक बढेपछि अनुसन्धानमा समेत हम्मेहम्मे पर्न थालेको बताइन्छ। काठमाडौं परिसर मातहत करिब ४ हजार प्रहरी कर्मचारी कार्यरत रहे पनि बढ्दो अपराध नियन्त्रण र अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ। यसबाहेक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत दुई–दुई सयको हाराहारीमा मात्र कर्मचारी रहेकाले पक्राउ र अनुसन्धानको काम प्रभावित भएको छ।

यसैबीच, गत भदौ २३ र २४ गते राजधानीमा भएको प्रदर्शनका क्रममा राजनीतिक दलका कार्यालय तथा नेताहरूको निजी निवासमा भएको आगजनी र तोडफोडसम्बन्धी पूर्ण जाहेरी भने अहिलेसम्म प्राप्त नभएको परिसर स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, “जेनजी प्रदर्शनको अधिकांश जाहेरी आएकै छैन। जलेका सबै कार्यालयले उजुरी दिएका छैनन्। यदि सबैबाट जाहेरी प्राप्त भएको भए कुल मुद्दाको संख्या १० हजार नाघिसक्ने अनुमान गरिएको छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button