१७ बैशाख २०८३, बिहीबार

बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, राज्यपालले कार्यवाहककै जिम्मेवारी दिए

पटना, वैशाख १ — भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) सैयद अता हसनैन समक्ष राजीनामा पत्र बुझाएको पुष्टि भएको छ। राज्यपालले उनको राजीनामा स्वीकार गर्दै नयाँ सरकार गठन नभएसम्मका लागि उनलाई कार्यवाहक मुख्यमन्त्रीको रूपमा कार्यरत रहन निर्देशन दिएका छन् ।

राजीनामा पश्चात् नीतीश कुमारले सामाजिक सञ्जाल एक्स मार्फत एक विस्तृत वक्तव्य जारी गर्दै बिहारवासी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले नयाँ बन्ने सरकारलाई आफ्नो “पूर्ण सहयोग र मार्गदर्शन” रहने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै नीतीश कुमारले वक्तव्यमा भनेका छन्, “तपाईंहरूलाई थाहा छ कि २४ नोभेम्बर २००५ मा राज्यमा पहिलो पटक एनडीए सरकार गठन भएको थियो। त्यसयता राज्यमा कानुनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासका काममा लागिरहेका छौं।”

उनले आफ्नो नेतृत्वमा सबै वर्ग, धर्म, जाति र समुदायको समावेशी विकास गरिएको दाबी गरे। नीतीश कुमारले भने, “शिक्षा, स्वास्थ्य, सडक, बिजुली, कृषि लगायत सबै क्षेत्रमा काम गरिएको छ। महिला र युवाहरूका लागि पनि धेरै पहल गरिएको छ।”

राजीनामा पूर्व नीतीश कुमारले मंगलबार बिहान आफ्नो अन्तिम मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका थिए। करिब १५ देखि २५ मिनेटसम्म चलेको उक्त बैठकमा उनले मन्त्रिपरिषद्का सहकर्मीहरूलाई आफ्नो राजीनामाको निर्णयबारे जानकारी गराएका थिए । बैठक भावुक बनेको र मन्त्रीहरूले उनको योगदानप्रति आभार व्यक्त गरेको बताइएको छ ।

नीतीश कुमार यसअघि गत मार्च महिनामा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भएका थिए र सांसदको शपथ समेत लिइसकेका छन् । उनी बिहारको सबैभन्दा लामो समय सेवा गर्ने मुख्यमन्त्री हुन् भने उनले कूल १० पटक मुख्यमन्त्रीको शपथ लिएका थिए ।

यसैबीच, नीतीश कुमारको राजीनामा पश्चात् भारतीय जनता पार्टी (भाजपा) का विधायक दलका नेता सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। भाजपा केन्द्रीय पर्यवेक्षक शिवराज सिंह चौहानको उपस्थितिमा सम्पन्न बैठकले उनलाई विधायक दलको नेतामा चयन गरेको हो । यो सँगै बिहारमा पहिलो पटक भाजपा नेतृत्वको सरकार गठन हुने भएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button