१७ बैशाख २०८३, बिहीबार

चीनद्वारा अमेरिकी नाकाबन्दीको भर्त्सना : ‘युद्धविराम भत्काउने खतरनाक कदम, क्षेत्रीय तनाव तत्काल घटाउन आग्रह’

बेइजिङ, वैशाख १ — चिनियाँ विदेश मन्त्रालयले इरानी बन्दरगाहहरूबाट हुने जल यातायातलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाले सुरु गरेको सैन्य नाकाबन्दीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई ‘खतरनाक र गैरजिम्मेवारीपूर्ण’ भएको टिप्पणी गरेको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकी सैन्य कारबाहीसम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै उक्त धारणा राखेका हुन्।

प्रवक्ता गुओले भने, “चीनले सबै सम्बन्धित पक्षहरूलाई युद्धविरामको व्यवस्थालाई कडाइका साथ पालना गर्न, वार्ता र शान्ति प्रयासको मार्गमा अडिग रहन तथा क्षेत्रीय तनाव कम गर्न र होर्मुज जलसन्धिमा सामान्य आवागमनको अवस्था यथाशीघ्र पुनर्स्थापना गर्न ठोस कदम चाल्न आग्रह गर्दछ।”

प्रवक्ता गुओले सम्बन्धित पक्षहरूबीच यसअघि नै अस्थायी युद्धविरामको सहमति भइसकेको सन्दर्भ उल्लेख गर्दै अमेरिकाको पछिल्लो कदमले परिस्थितिलाई थप जटिल बनाउने चेतावनी दिए। उनले भने, “सम्बन्धित पक्षहरूले पहिल्यै अस्थायी युद्धविरामको सहमति जनाइसकेको अवस्थामा, संयुक्त राज्य अमेरिकाद्वारा सैन्य तैनाथीमा गरिएको वृद्धि र लक्षित नाकाबन्दीका कार्यहरूले तनावलाई झनै चर्काउने, परिस्थितिलाई उग्र बनाउने, पहिल्यै कमजोर रहेको युद्धविरामलाई थप कमजोर पार्ने र यस जलमार्गको सुरक्षित आवागमनलाई थप जोखिममा पार्नेछ।”

प्रवक्ता गुओ जियाकुनले समस्याको दीर्घकालीन समाधानका लागि व्यापक युद्धविरामको आवश्यकता औंल्याउँदै भने, “चीनको विश्वास छ कि एउटा विस्तृत तथा समग्र युद्धविरामले मात्र अन्ततः जलसन्धि क्षेत्रमा तनाव घटाउने र अवस्थालाई सहज बनाउने वातावरण तयार पार्न सक्छ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button