२ बैशाख २०८३, बुधबार

चिनियाँ रक्षा उद्योगका पूर्व उच्च पदाधिकारीलाई घुस खाएको अभियोगमा १३ वर्ष कैद सजाय

हेनान, चीन — चीनको अग्रणी सैन्य उद्योग समूह चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनका पूर्व उपमहाप्रबन्धक लिउ वेइदोङलाई मंगलबार घुस रिसवत लिएको अभियोगमा १३ वर्ष कैद सजाय सुनाइएको छ। मध्य चीनको हेनान प्रान्तस्थित नानयाङ मध्यवर्ती जन अदालतले उक्त फैसला सुनाएको हो।

अदालतद्वारा जारी फैसलाअनुसार लिउलाई १३ वर्षको जेल सजायका साथै ४० लाख चिनियाँ युआन (करिब ५ लाख ८७ हजार अमेरिकी डलर) जरिवाना समेत तोकिएको छ। यसका साथै उनको अवैध आम्दानी जफत गरी राज्य कोषमा जम्मा गरिने अदालतले आदेश दिएको छ।

अदालतले सुनुवाइका क्रममा पत्ता लगाएको विवरण अनुसार लिउ वेइदोङले सन् १९९९ देखि २०२५ सम्मको अवधिमा विभिन्न ओहदामा रहँदा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी व्यवसाय सञ्चालन, कम्पनी व्यवस्थापन तथा कर्मचारी समायोजन लगायतका विषयमा विभिन्न व्यक्तिहरूलाई सहयोग पुर्याएबापत कूल ४ करोड १३ लाख ९० हजार चिनियाँ युआनभन्दा बढी रकम घुस तथा उपहार स्वरूप लिएको पुष्टि भएको छ।

यसअघि गत जनवरी १६ तारिखका दिन भएको मुद्दाको सुनुवाइका क्रममा लिउ वेइदोङले अदालतसमक्ष आफूले गरेको अपराध स्वीकार गरेका थिए। आफ्नो अन्तिम बयानका क्रममा उनले गहिरो पश्चात्ताप समेत व्यक्त गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button