हङकङमा सार्वजनिक स्थलमा भ्याप तथा ई–सिगरेट प्रयोग गरे ५० हजार डलर जरिवाना र ६ महिना जेल सजाय हुने

हङकङ, वैशाख १ — हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) सरकारले सार्वजनिक स्थानहरूमा वैकल्पिक धूम्रपान उत्पादनहरू बोक्ने वा प्रयोग गर्ने जोकोहीलाई पनि ५० हजार हङकङ डलर (करिब ६ हजार ३ सय ८४ अमेरिकी डलर) सम्म जरिवाना र अधिकतम ६ महिना कैद सजाय हुने कडा कानुनी व्यवस्था लागू गरेको छ।
हङकङ सरकारका अनुसार वैकल्पिक धूम्रपान उत्पादनहरूमा विद्युतीय चुरोट (ई–सिगरेट), ई–लिक्विड तथा जडीबुटीयुक्त चुरोटहरू पर्दछन्। उक्त प्रतिबन्ध आगामी अप्रिल ३० तारिखदेखि लागू हुनेछ भने यसका लागि कुनै पनि संक्रमणकालीन अवधि तोकिएको छैन। सरकारले ‘एकपटक पक्राउ परे सिधै कारबाही’ (वान स्ट्राइक यू आर आउट) को नीति अवलम्बन गर्ने जनाएको छ।
यो दण्डात्मक व्यवस्था हङकङ सरकारले गत सेप्टेम्बरमा राजपत्रमा प्रकाशित गरेको ‘धूम्रपान नियन्त्रण विधान (संशोधन) अध्यादेश २०२५’ मा उल्लिखित चरणबद्ध कार्यान्वयनको एक हिस्सा हो। सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रणलाई थप कडा बनाउने क्रममा निकट भविष्यमा नै चुरोटका लागि शुल्क टिकट प्रणाली लागू गर्ने तथा सुगन्धित परम्परागत धूम्रपान उत्पादनहरूमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरिरहेको जनाएको छ।





