सांघाईको अर्थतन्त्र वर्षको सुरुमै लयमा : एआई, आईसी र बायोमेडिसिन क्षेत्रमा १३.८ प्रतिशतको वृद्धि

सांघाई, वैशाख १ — चीनको आर्थिक राजधानी सांघाईले सन् २०२६ को सुरुवाती महिनाहरूमा नै सुदृढ आर्थिक पुनरुत्थानको संकेत देखाएको छ। सोमबार आयोजित एक पत्रकार सम्मेलनमा सांघाईका कार्यकारी उपमेयर वु वेईले दिएको जानकारी अनुसार वर्षको पहिलो दुई महिनामा सहरका तीन अग्रणी उद्योग— कृत्रिम बौद्धिकता (एआई), एकीकृत सर्किट (आईसी) र जैविक औषधि (बायोमेडिसिन)— को उत्पादन गत वर्षको सोही अवधिको तुलनामा १३.८ प्रतिशतले बढेको छ।
उपमेयर वुका अनुसार जनवरी र फेब्रुअरी महिनामा सांघाईको कूल उपभोक्ता वस्तुको खुद्रा बिक्रीमा ७.२ प्रतिशतको वृद्धि भएको छ भने स्थिर पूँजीगत लगानीमा ७.४ प्रतिशतको वृद्धि दर्ता गरिएको छ। यसैगरी सन् २०२६ को पहिलो त्रैमासिक अवधिमा सहरको वैदेशिक व्यापार २१.९ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरिएको छ।
औद्योगिक क्षेत्रको विवरण प्रस्तुत गर्दै अधिकारीहरूले सांघाईका रणनीतिक उदीयमान उद्योगहरूको योगात्मक मूल्य वर्षको पहिलो दुई महिनामा ९.९ प्रतिशतले बढेको जानकारी दिए। यस अन्तर्गत नयाँ ऊर्जा सवारी साधन (एनईभी) क्षेत्रले ४७.२ प्रतिशत, नयाँ ऊर्जा क्षेत्रले १८.६ प्रतिशत र नयाँ सामग्री क्षेत्रले १०.२ प्रतिशतको उल्लेखनीय विस्तार हासिल गरेका छन्।
यसैबीच, वैदेशिक लगानीको प्रमुख गन्तव्यको रूपमा रहेको सांघाईमा हाल १,०९१ बहुराष्ट्रिय कम्पनीका क्षेत्रीय मुख्यालयहरू तथा ६५४ विदेशी पूँजीमा आधारित अनुसन्धान तथा विकास (आरएण्डडी) केन्द्रहरू स्थापित भइसकेको सांघाई नगर वाणिज्य आयोगका निर्देशक शेन वेइह्वाले जानकारी दिए।





