राराको रङसँगै पर्यटकको चहलपहल

रारा । नेपालको सबैभन्दा ठूलो राराताल घुम्ने मुख्य मौसम सुरु भएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। चैतदेखि असारसम्मको समय रारा भ्रमणका लागि उपयुक्त मानिन्छ। रारा राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा ११ हजार ५२५ जना आन्तरिक तथा विदेशी पर्यटकले रारातालको अवलोकन गरिसकेका छन्।
निकुञ्जका प्रमुख विष्णुबाबु श्रेष्ठका अनुसार यो समयमा मौसम खुला रहने भएकाले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो। सुर्खेतबाट रारा पुगेका पर्यटक कृष्णहरि खनालले भ्रमणको अनुभव सुनाउँदै भने, “रारामा आकाशको रङसँगै छिनछिनमा तालको रङ बदल्दो रहेछ। पानी कहिले नीलो, कहिले कालो त कहिले सेतो देखिन्छ। बिहान पानी स्थिर भएका बेला हिमालको छाया टल्किँदा रारा झनै मनमोहक देखिन्छ।”
राराताल समुद्री सतहदेखि २ हजार ८८० मिटरको उचाइमा अवस्थित छ। तालको गहिराइ १६७ मिटर, लम्बाइ ५.१ किलोमिटर र चौडाइ २.७ किलोमिटर रहेको छ। ताल किनारको लम्बाइ १४.६ किलोमिटर रहेको छ भने पैदल यात्रा गरेर तालको फन्को मार्न करिब सात घण्टा लाग्ने बताइन्छ। रारामा साइक्लिङ तथा घोडचढीको सुविधा उपलब्ध छ। तालमा पौडी खेल्न र नुहाउन निषेध गरिएको भए पनि पानी स्वच्छ रहेकाले पिउन योग्य रहेको स्थानीयवासी बताउँछन्।
रारा पुग्नका लागि स्थलमार्गबाट सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर दुई दिनको यात्रापछि पुग्न सकिन्छ। हवाईमार्गबाट भने नेपालगन्जको राँझा विमानस्थलबाट ताल्चा विमानस्थलसम्म ३५ मिनेटको उडानपछि सहजै पुग्न सकिन्छ।
स्थानीय समाजसेवी रूपबहादुर मल्लले राराको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारले पर्याप्त प्राथमिकता दिन नसकेको बताए। उनले भने, “नियमित हवाई उडान, भरपर्दो मोटरबाटो र प्रतिस्पर्धी होटेल जस्ता पूर्वाधारको अझै अभाव छ। रारालाई योग तथा ध्यान केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना छ।”
पर्यटन व्यवसायी दुर्गालक्ष्मी रावलले जुम्लाबाट रारा हुँदै खप्तड र डोल्पासम्म जोड्ने पदमार्गको पूर्वाधार विकास गर्न सके लामो पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्ने बताइन्। यसले स्थानीयस्तरमा रोजगारीका अवसरसमेत सिर्जना गर्ने उनको भनाइ छ।
यसैबीच, छायानाथ रारा नगरपालिकाले रारा क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि विभिन्न रणनीतिक कार्यक्रमको तयारी गरिरहेको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए। उनका अनुसार स्थानीय युवालाई होटेल व्यवसाय तथा गाइडसम्बन्धी तालिम प्रदान गर्ने योजना रहेको छ।





