पाक्योङलाई सुशासनतर्फ स्कोच स्वर्ण

पाक्योङ, सिक्किम । सिक्किमको पाक्योङ जिल्लास्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) ले प्रतिष्ठित ‘स्कोच अवार्ड’ को स्वर्ण श्रेणीमा पुरस्कार प्राप्त गरेको छ। जिल्ला सुशासन विधाअन्तर्गत प्रदान गरिएको यो सम्मान केन्द्रको नवीन पर्यटन पहल ‘नोमाड सिक्किम’ का लागि प्राप्त भएको जनाइएको छ।

‘नोमाड सिक्किम’ पहललाई दिगो तथा समुदायमा आधारित पर्यटन प्रवर्द्धन गर्ने र समावेशी विकासलाई प्रोत्साहन गर्ने दूरदर्शी कार्यक्रमको रूपमा हेरिएको छ। यस पहलले सिक्किमको समृद्ध सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्दै स्थानीय जनजीविकामा समेत टेवा पुर्याउने लक्ष्य राखेको छ।
यस उपलब्धिले सुशासन र नवप्रवर्तनको क्षेत्रमा सम्बन्धित टोलीको समर्पण र दृष्टिकोणलाई थप प्रमाणित गरेको बताइएको छ। पुरस्कार प्राप्तिपछि सम्बन्धित अधिकारीहरूले यसले आगामी दिनमा थप उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने प्रतिक्रिया दिएका छन्।





