९ बैशाख २०८३, बुधबार

खड्काको ‘लेटरहेड’ ले कांग्रेस एकता टाढा

काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि नेपाली कांग्रेसको एकता प्रयास झन् जटिल बनेको छ। देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधि सञ्चालन गर्न थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको हो।

खड्काको उक्त गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबारका लागि बोलाइएको छ। यसैबीच, नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको यस कदमको आलोचना हुन थालेको छ।

२४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला पार्टी एकताका लागि सक्रिय थिए। कोइरालाले देउवा पक्षका नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्री बद्री पाण्डे तथा जीवन परियारमार्फत संवाद अघि बढाइरहेका बेला खड्काले कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी विज्ञप्ति निकालेपछि संस्थापन पक्ष कारबाहीको तहमा पुगेको छ भने कोइराला पक्ष पनि असन्तुष्ट बनेको छ।

पार्टी सभापति गगन थापाको उपस्थितिमा मङ्गलबार बिहान बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले यसअघि गल्ती नदोहोर्याउन चेतावनी दिइसकेपछि पनि पुनरावृत्ति भएको भन्दै पहिलो चरणमा स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष निकालेको छ। गत २४ चैतमा अनुशासन समितिको बैठकले खड्कालाई लक्षित गर्दै आइन्दा गल्ती नदोहोर्याउन चेतावनी दिएको थियो। महामन्त्री गुरुराज घिमिरेले कारबाहीबारे अनुशासन समिति स्वायत्त रहेको र समितिले नै यस विषयमा निर्णय लिने बताए।

सभापति थापाले पार्टी कार्यालयबाहिर भइरहेको समानान्तर गतिविधि अब सहन नसकिने भन्दै खड्का लक्षित अभिव्यक्ति दिएका छन्। मङ्गलबार आफ्नै सदस्यता अद्यावधिक गरेर ‘जरा अभियान’ को शुभारम्भ गरेका सभापति थापाले भने, “अनधिकृत रूपमा हुने गतिविधिको एउटा सीमा हुन्छ। पार्टीलाई मिलाएर लैजाने मेरो जिम्मेवारी र विनम्रतालाई कमजोरी नठानियोस्।”

खड्काले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ को विरोध गर्दै सोमबार विज्ञप्ति निकालेका थिए। कांग्रेसले असोज १६–१९ मा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गरी नयाँ वर्षको पहिलो दिनदेखि नै सदस्यता अद्यावधिक गर्ने, निर्वाचनको समीक्षा गर्ने र सङ्गठन सुधारका लागि सामाजिक अभियानमा घुलमिल हुने गरी एकमहिने ‘जरा अभियान’ सुरु गरेको छ। अभियानका लागि ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको छ।

तत्कालीन कार्यवाहक सभापति खड्काले यसअघि नवीकरण भइसकेको सदस्यताको समेत अद्यावधिक गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्। देउवा नेतृत्वको अघिल्लो कार्यसमितिले वैशाख २८–३१ मा १५ औं महाधिवेशन गर्ने तालिका ल्याएको र त्यतिबेलै अधिकांश जिल्लामा नवीकरण तथा नयाँ क्रियाशील सदस्यता वितरणको काम सकिइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने कार्यप्रति खड्काले आपत्ति जनाएका हुन्।

विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले यसअघिको तालिका संशोधन गर्दै असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ। २१ फागुनको निर्वाचनका क्रममा करिब डेढ दर्जन निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको सङ्ख्याभन्दा कम मत परेपछि कांग्रेसले सदस्यता शुद्धीकरण गर्नुपर्ने भन्दै अभियान थालेको हो।

यसैबीच, कोइराला पक्ष खड्काको समानान्तर गतिविधिमा सहभागी हुन छाडेको छ। पूर्वसहमहामन्त्री परियारले कार्यवाहक सभापतिको हैसियतमा हुने कुनै पनि समानान्तर गतिविधिमा शेखर पक्षको सहभागिता नहुने स्पष्ट पारेका छन्। देउवा पक्षमा रहेका नेता श्याम घिमिरेले पार्टी एकताका लागि दुवै पक्ष लचक हुनुपर्ने र सर्वोच्च अदालतले फैसला नदिएसम्म निर्वाचन आयोगले दिएको मान्यताअनुसार थापालाई सभापति मानेर जानुको विकल्प नरहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button