१७ बैशाख २०८३, बिहीबार

हङकङमा प्रविधिको जमघट

हङकङ । हङकङका दुई प्रमुख प्रविधि मेला ‘इनोएक्स’ र ‘हङकङ इलेक्ट्रोनिक्स फेयर (वसन्त संस्करण)’ सोमबारदेखि यहाँ सुरु भएका छन्। चार दिनसम्म सञ्चालन हुने यी दुवै प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र अत्याधुनिक इलेक्ट्रोनिक उत्पादनहरूमा केन्द्रित रहने जनाइएको छ। यस वर्ष २७ देश तथा क्षेत्रका २ हजार ८ सय प्रदर्शकहरू सहभागी भएका छन् भने सयभन्दा बढी कार्यक्रमहरू आयोजना हुनेछन्।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका नवप्रवर्तन, प्रविधि तथा उद्योग सचिव सुन डोङले मङ्गलबार उद्घाटन समारोहमा बताएअनुसार इनोएक्स हङकङको नवप्रवर्तन र प्रविधि क्षमताको वार्षिक प्रदर्शनी मात्र नभई स्टार्टअपलाई लगानीकर्तासँग, अनुसन्धानलाई उद्योगसँग र स्थानीय उद्यमहरूलाई स्वदेशी तथा विदेशी बजारसँग जोड्ने अन्तर्राष्ट्रिय मञ्चको रूपमा स्थापित भएको छ।

हङकङ व्यापार विकास परिषद्की कार्यकारी निर्देशक सोफिया चोङले इनोएक्स एक प्रतिष्ठित प्रमुख मञ्चको रूपमा विकास भएको बताइन्। उनका अनुसार यस प्रदर्शनीले विश्वस्तरीय आविष्कारकर्ता, अनुसन्धान तथा विकास केन्द्र र प्रविधि अग्रणीहरूलाई एकै स्थानमा भेला गराउँदै आएको छ। संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनका महानिर्देशक गर्ड मुलरले अत्याधुनिक प्रविधिलाई उत्पादकत्वमा रूपान्तरण गर्न हङकङसँग साझेदारी गर्न उत्सुक रहेको बताए।

‘नवप्रवर्तन, स्वचालन र उत्थान’ नाराका साथ आयोजित यस वर्षको इनोएक्समा एआई प्लस, रोबोटिक्स र न्यून उचाइ अर्थतन्त्र गरी पाँच प्रमुख क्षेत्रहरूमा केन्द्रित रहनेछ। यसैगरी, विश्वको अग्रणी इलेक्ट्रोनिक व्यापार मञ्चका रूपमा रहेको इलेक्ट्रोनिक्स फेयरमा यसपटक १५ देश तथा क्षेत्रका प्रदर्शकहरू सहभागी छन्। अस्ट्रेलिया, फ्रान्स, मकाउ र थाइल्यान्डले पहिलोपटक सहभागिता जनाएका छन्। उक्त मेलामा स्मार्ट होम समाधान, स्वास्थ्य प्रविधि उपकरण र स्मार्ट पाल्तु जनावर उत्पादनहरूसहित विभिन्न नवीन प्रविधि तथा इलेक्ट्रोनिक सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। करिब ६० उत्पादनहरूले विश्वमै पहिलोपटक यसै मेलामार्फत बजारमा आउने तयारी गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button