इरानमाथि अमेरिकी–इजरायली आक्रमणको रुसले गर्याे भर्त्सना, पुटिनद्वारा खमेनी परिवारप्रति शोक व्यक्त

मस्को/तेहरान — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ। शुक्रबार भएको सो वार्तामा इरानमाथि भएको भीषण आक्रमणप्रति रुसले गहिरो चिन्ता र शोक व्यक्त गरेको छ।
टेलिफोन वार्ताका क्रममा राष्ट्रपति पुटिनले इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी र उहाँका परिवारका सदस्यहरू, उच्च सैन्य तथा राजनीतिक नेतृत्वको निधनले आफू मर्माहत भएको बताए। अमेरिका र इजरायलले गरेको सशस्त्र आक्रमणमा परी सयौं सर्वसाधारणको मृत्यु भएकोप्रति पुटिनले हार्दिक समवेदना प्रकट गरे।
रुसी राष्ट्रपतिले इरानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो अटल समर्थन दोहोर्याउँदै हिंसा तत्काल रोकिनुपर्नेमा जोड दिए। “इरान वा सम्पूर्ण मध्यपूर्वमा उत्पन्न समस्या समाधान गर्न शक्तिको प्रयोग अस्वीकार्य छ,” पुटिनले भने, “युद्धको मैदान होइन, कूटनीतिक मार्गबाट मात्र समस्याको स्थायी समाधान सम्भव छ।”
यसै सन्दर्भमा उनले खाडी सहयोग परिषद् (जीसीसी) का राष्ट्र प्रमुखहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको पनि जानकारी गराए।
इरानी राष्ट्रपति पेजेश्कियानले यस्तो कठिन घडीमा इरानी जनताप्रति रुसले देखाएको एकता र समर्थनप्रति आभार व्यक्त गरे। उनले आक्रमणपछिको पछिल्लो परिस्थितिबारे रुसी समकक्षीलाई विस्तृत जानकारी गराएका थिए।
दुवै नेताबीच भएको वार्तामा भविष्यमा पनि विभिन्न माध्यमबाट सम्पर्क जारी राख्ने सहमति भएको छ। यस टेलिफोन वार्ताले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाएको विश्लेषकहरूले बताएका छन्।





