नयाँ नेताप्रति इरानी जनताको प्रतिबद्धता : सडकदेखि मस्जिदसम्म ‘हाम्रो नेता, हाम्रो अभिमान’

काठमाडौं / इरानमा सोमबार देशभर ठूलो जनसमागम भएको छ। आइतबार इरानको विज्ञहरूको सभा (अस्सेम्ब्ली अफ एक्सपर्ट्स) ले नयाँ सर्वोच्च नेता आयोतोल्लाह मोज्तबा खामेनीको नियुक्ति घोषणा गरेको एक दिनपछि देशका विभिन्न सहरहरूमा एकसाथ यी विशाल कार्यक्रमहरू आयोजना गरिएका हुन्।
राजधानी तेहरानको प्रतिष्ठित इन्किलाब स्क्वायरमा विभिन्न पेसा र समुदायका मानिसहरू तथा इरानी अधिकारीहरू भेला भएका थिए। उनीहरूले इरानको राष्ट्रिय झण्डा र नयाँ नेता तथा गत महिनाको अन्त्यतिर संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा मारिएका पूर्व सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।
नयाँ नेताप्रति निष्ठा र समर्थन व्यक्त गर्दै भीडले नाराबाजी गरेको थियो। उनीहरूले इरानविरुद्ध अमेरिका र इजरायलले गरेको ‘अपराध’को निन्दा समेत गरेका थिए। सहभागीहरूले ‘शत्रु’सामु कहिल्यै नझुक्ने प्रतिज्ञा गर्दै शत्रुले गलत हिसाबकिताब गरेको र अन्ततः पराजित हुने जिकिर गरे।
उनीहरूले अमेरिका र इजरायलविरुद्धको लडाइँमा देशको सशस्त्र सेनाप्रति अटल समर्थन व्यक्त गरेका थिए।
उल्लेखनीय छ, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य इरानी सहरहरूमा आश्चर्यजनक हवाई हमला गरेका थिए। सो आक्रमणमा तत्कालीन सर्वोच्च नेता अली खामेनी, उनका परिवारका केही सदस्य, वरिष्ठ सैन्य कमाण्डर र सर्वसाधारण नागरिक मारिएका थिए। त्यसको जवाफमा इरानले मध्यपूर्वभर रहेका अमेरिकी ठिकाना र इजरायलमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।
विज्ञहरूको सभाले आइतबार जारी गरेको विज्ञप्तिमा मोज्तबा खामेनीले प्रतिनिधिहरूको ‘निर्णायक मत’ प्राप्त गरेको जनाइएको थियो।




