३ बैशाख २०८३, बिहीबार

नागरिक समाजप्रति दोभान राईको असन्तुष्टि

काठमाडौं । प्रविधि विज्ञ तथा अभियन्ता दोभान राईले वर्तमान समयमा नेपालको नागरिक समाजसँग आफू निकै असन्तुष्ट र अधैर्य रहेको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक लामो विश्लेषणात्मक अभिव्यक्ति सार्वजनिक गर्दै उनले अहिलेको जटिल र धमिलो परिस्थितिमा नागरिक समाजको भूमिकाबारे प्रश्न उठाएकी हुन्।

राईले लेखेकी छन्, “अहिलेको समयमा नेपालको नागरिक समाजसँग म निकै असन्तुष्ट र अधैर्य छु। अहिलेको जटिल र धमिलो समयमा यसरी नै कोही व्यक्ति वा समूह मुखरित हुनुपर्छ भनेर निर्देशित गर्ने स्थान मेरो होइन। कतिको नजरमा म चाहिँ गलत, भ्रमित पनि देखिन सक्छु।”

उनले नागरिक समाजको अवसरवादी तप्काका साथै असल नियत भएका समूहसमेत ‘डिनायलिज्म’ (अस्वीकारवाद) मा रहेको बताएकी छन्। गत सेप्टेम्बरको आन्दोलनदेखि नै धेरै अन्योल र जटिलता रहेको उल्लेख गर्दै उनले यो विषय सामूहिक बुझाइबाट मात्र व्याख्या गर्दै लैजानुपर्ने बताएकी छन्। “जुन रफ्तारमा घटनाक्रमहरू हुर्रिँदै आएको छ, कुराहरू सल्टिने र सजिलो हुनेभन्दा पनि झन् जटिल हुँदै गएको छ। प्रणालीगत रूपमै अभिभूत भएको महसुस भएको छ,” उनले लेखेकी छन्।

राईले प्रमोद मिश्रको एक लेख पढेर आफू दुःखी भएको उल्लेख गर्दै मिश्रलाई मधेस आन्दोलनदेखि नै पढ्दै र सम्मान गर्दै आएको बताएकी छन्। तथापि, मिश्रले वालेन्द्र साहको शपथलाई ‘मानवशास्त्रीय धार्मिकताको सार्वजनिक सम्मान’ भन्दै ‘शङ्काको लाभ’ दिनुपर्ने धारणाप्रति भने उनले कडा असहमति जनाएकी छन्।

उनले भनेकी छन्, “यो शपथ मानवशास्त्रीय धार्मिकताको सार्वजनिक सम्मान चाहिँ पटक्कै होइन। बालेन तालिबान-मोदी मार्काका धार्मिक अतिवादी त नहोलान् तर उनी अशोक वा अकबर पनि होइनन्। नेपाली राज्यको धार्मिकताको प्रयोग गर्न उनी कुनै सम्राट होइनन्। धर्मनिरपेक्ष नेपालको निर्वाचित प्रधानमन्त्री हुन् बालेन। उनको शपथ संविधान विपरीत थियो।”

राईले प्रधानमन्त्रीको शपथग्रहण समारोहमा ७ शङ्ख, १०८ बटुक र १०७ भिक्षुको योजना कुन समूहले बनायो, यसबारे रास्वपाभित्र छलफल भयो कि भएन र कुनै सांसदले चिन्ता व्यक्त गरे कि गरेनन् भनी प्रश्न उठाएकी छन्। उनले भनेकी छन्, “नेपालको यो बेथिति ‘धार्मिकता’ मा कुनै सङ्कट भएर आएको होइन। ठोरीको राम भन्ने ओलीले आफ्नो हिन्दु धार्मिकता अभ्यास गर्नमा कुनै अतिक्रमण भएर आएको होइन। पारदर्शिता, जवाफदेहिता र दलभित्रको आन्तरिक लोकतन्त्रमा पतन भएर आएको हो। वालेन्द्रको शपथले यी तीनै कुरा ओरालो लागेको सङ्केत गरेको छ।”

युवा आन्दोलनको जगमा निर्वाचित भएको सरकारले युवा र आन्दोलनलाई बिर्सिएको भन्दै उनले लेखेकी छन्, “जसको कुम चढेर यहाँ आयो, जेनेजेड, आन्दोलन, युवा सबै बिर्सियो। बालेनजी इतिहासको आरोह-अवरोहबाट उक्लिनुभएको होइन, आकाशबाट सर्लक्कै झर्नुभएको हो।”

स्रोत: दोभान राईको फेसबुक पोस्ट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button