९ बैशाख २०८३, बुधबार

भिटो अधिकार नै संयुक्त राष्ट्रसङ्घको आधारशिला भएको रुसी दाबी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि रुसी महासङ्घका स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले सुरक्षा परिषद्को भिटो अधिकार नै राष्ट्रसङ्घीय कार्यप्रणालीको आधारशिला भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घ महासभाको अन्तरसरकारी वार्तामा सोमबार सम्बोधन गर्दै उनले भिटो अधिकारबिना सङ्गठनले शीतयुद्ध र वर्तमान अशान्त समयमा एक दशक पनि जीवित रहन नसक्ने धारणा राखे।

नेबेन्जियाले भने, “व्यावसायिक कूटनीतिक वृत्तमा यो सर्वविदितै छ कि भिटो संयन्त्र संयुक्त राष्ट्रसङ्घको कार्यप्रणालीको आधारशिला हो। यो अधिकार राष्ट्र सङ्घको सङ्घीय अभ्यासबाट सिकेको पाठको परिणामस्वरूप ल्याइएको थियो। यो अधिकारबिना यो सङ्गठनले पनि उही भोगाइ भोग्नुपर्ने थियो।” उनले यो सन्तुलनकारी संयन्त्र नभएको भए शीतयुद्ध वा अहिलेको अशान्त समयमा राष्ट्रसङ्घ एक दशक पनि टिक्न नसक्ने कल्पना गर्न कठिन हुने बताए। उनले यस संयन्त्रलाई सीमित गर्न बाध्य पार्नु अवास्तविक भएको भन्दै यो यथार्थ स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखे।

रुसी राजदूतले पश्चिमा सदस्य राष्ट्रहरूले प्रायः सुरक्षा परिषद्का प्रस्तावहरूलाई अरुचिका राज्यहरूविरुद्ध दण्डात्मक औजारका रूपमा हेर्ने गरेको आरोप लगाए। उनले भने, “पश्चिमा प्रतिनिधिमण्डलहरूले प्रायः हस्तक्षेपकारी र राजनीतिकरण गरिएका मस्यौदा प्रस्तावहरू पेस गर्छन्, जो उपदेशात्मक भाषाले भरिएका हुन्छन् र जसको एकमात्र उद्देश्य पूर्व औपनिवेशिक शक्तिहरूको भूराजनीतिक स्वार्थ पूरा गर्नु र अन्य राज्यहरूमाथि पश्चिमा विकासको नमूना थोपर्नु हो।”

नेबेन्जियाले यस्ता असम्मानजनक र खुला नवउपनिवेशवादी उद्देश्यका लागि सुरक्षा परिषद्को प्रयोग हुन नदिने रुसी अडान दोहोर्याए। उनले अन्तर्राष्ट्रिय कानुन र राज्यको सार्वभौमसत्ताको रक्षा गर्न, मनोमानी कारबाही र दबाबविरुद्ध उभिन वा न्याय पुनर्स्थापना गर्न भिटो प्रयोग गर्न रुस तयार रहेको बताए। उनले भिटोको आलोचना गर्नुभन्दा पनि निश्चित सदस्यहरूले अरूको धारणा सुन्न र सम्झौता तथा सन्तुलित समाधानमा पुग्न नचाहनु नै आलोचनाको विषय हुनुपर्ने धारणा राखे। “हामी नियमित रूपमा यस्तो अवस्थाको सामना गर्छौं जहाँ पश्चिमा प्रतिनिधिमण्डलहरूले अग्रिम रूपमै पूर्णतया अस्वीकार्य रहेको जान्दाजान्दै पनि प्रस्तावहरू मतदानमा लैजान्छन्,” उनले थपे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button