एससीओ सचिवालयमा नवरोज पर्वको रौनक

काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) सचिवालयले परम्परागत वसन्त उत्सव ‘नवरोज’ को अवसरमा बेइजिङमा एक औपचारिक स्वागत समारोहको आयोजना गरेको छ। अप्रिल १५ का दिन आयोजित उक्त कार्यक्रममा सङ्गठनका महासचिव नुरलान येर्मेक्बायेभ, चीन असल छिमेकीपन, मित्रता तथा सहयोग समितिका उपाध्यक्ष जुई ली र चीनका लागि किर्गिस्तानका राजदूत अक्तिलेक मुसायेभले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका थिए। एससीओको ‘ठूलो परिवार’ का रूपमा परिचित सदस्य राष्ट्रहरूले समारोहस्थलमा आआफ्नो मुलुकको हस्तकला तथा व्यावहारिक कलाका वस्तुहरूको प्रदर्शनी र राष्ट्रिय परिकारहरूको स्टल राखेका थिए। कूटनीतिक नियोगका साङ्गीतिक समूहहरूले सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिएका थिए।

रुसी दूतावासका अनुसार उक्त स्वागत समारोह परम्परागत रूपमै न्यानो तथा मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा चीनका लागि रुसी राजदूत इगोर मोर्गुलोभ र उनकी श्रीमतीको समेत उपस्थिति रहेको थियो। नवरोज मध्य एसिया, मध्यपूर्व तथा बाल्कन क्षेत्रमा नयाँ वर्षको रूपमा मनाइने प्राचीन पर्व हो।






