इरान-अमेरिका शान्ति वार्ताको पक्षमा चीन, वाङ यीद्वारा युद्धविरामको सञ्जाल खुला राख्न आग्रह

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले युद्धविराम र शान्ति वार्ताको गति कायम राख्न चीनले समर्थन गर्ने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ यीले बुधबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गर्दै यस्तो धारणा राखेका हुन्।
इरानी विदेशमन्त्री अराघ्चीले वाङ यीलाई इरान-अमेरिका वार्ताको पछिल्लो घटनाक्रम र इरानको धारणाबारे जानकारी गराउँदै तेहरान शान्ति वार्तामार्फत तर्कसङ्गत र व्यावहारिक समाधान खोज्न इच्छुक रहेको बताए। उनले क्षेत्रीय तनाव कम गर्न चीनले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै शान्ति प्रवर्द्धन र युद्ध अन्त्यका लागि बेइजिङले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरेको बताए।
जवाफमा वाङ यीले चीनले सधैंझैं इरानको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय गौरवको संरक्षण गर्न समर्थन गर्ने बताए। उनले राष्ट्रपति सी चिनफिङले मध्यपूर्वमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्न चारबुँदे प्रस्ताव अघि सारेको स्मरण गराउँदै यसले सङ्कट समाधानका लागि चिनियाँ दृष्टिकोण प्रस्तुत गरेको बताए।
वाङ यीले भने, “वर्तमान अवस्था युद्ध र शान्तिको बीचको सङ्घारमा पुगेको छ र शान्तिको सञ्झ्याल खुलेको छ।” उनले होर्मुज जलडमरूमध्य किनारको राष्ट्रका रूपमा इरानको सार्वभौमसत्ता, सुरक्षा र वैध अधिकारको सम्मान तथा संरक्षण गर्नुपर्ने र उक्त जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय नौसैनिक आवागमनको स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गरिनुपर्नेमा जोड दिए। उनले उक्त जलडमरूमध्यमा सामान्य आवागमन पुनर्स्थापनाका लागि प्रयास गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा आह्वान भएको बताए।
वाङ यीले राष्ट्रपति सी चिनफिङको चारबुँदे प्रस्तावको पालना गर्दै चीन परिस्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न, क्षेत्रीय मुलुकहरूबीचको सम्बन्ध सुधारलाई सहज बनाउन र मध्यपूर्वमा दिगो शान्ति तथा स्थायित्व हासिल गर्न रचनात्मक भूमिका खेल्न तयार रहेको बताए।





