चीन-स्पेनबीच प्रविधि र हरित ऊर्जामा सहकार्य गहिरो बनाउने सहमति

बेइजिङ । चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्थाओले चीन स्पेनसँग मिलेर रणनीतिक तालमेल र नीतिगत समन्वयलाई सुदृढ गर्न, व्यावसायिक वातावरणमा निरन्तर सुधार गर्न र प्राविधिक नवप्रवर्तन तथा औद्योगिक एवं आपूर्ति शृङ्खलामा उद्यमहरूबीचको सहकार्यलाई गहिरो बनाउन इच्छुक रहेको बताएका छन्।
चीन-स्पेन नवप्रवर्तनशील उद्यम आदानप्रदान सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री वाङले दुई देशले नयाँ ऊर्जा सवारीसाधन, बौद्धिक उत्पादन (इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ) तथा सौर्य र पवन ऊर्जाजस्ता क्षेत्रहरूमा थप कोशेढुङ्गा आयोजनाहरूको विकास गर्न सक्ने बताए। उनले यसले दुवै पक्षका उद्यम र जनतालाई लाभान्वित गर्ने बताए। उनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर रूपमा बढ्दै गएको र औद्योगिक शृङ्खलाको एकीकरण गहिरिँदै जाँदा यसले बलियो पूरकता र स्थिरता प्रदर्शन गरेको उल्लेख गरे।
सोही सम्मेलनलाई सम्बोधन गर्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले द्विपक्षीय सम्बन्ध इतिहासकै उत्कृष्ट अवस्थामा रहेको र व्यापार, लगानी, हरित ऊर्जा, औद्योगिक उत्पादन तथा प्राविधिक नवप्रवर्तनका क्षेत्रमा गहिरो सहकार्य भइरहेको बताए। उनले थप चिनियाँ कम्पनीहरूलाई स्पेनमा लगानी र व्यवसाय गर्न स्वागत गर्दै दुई देशका व्यावसायिक समुदायबीच रणनीतिक सहकार्य अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे।
उक्त सम्मेलनमा चिनियाँ र स्पेनी व्यवसाय जगत्का एक सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकार्यका अनुभव साझा गर्नुका साथै प्रविधि अनुसन्धान तथा विकास र लगानी सहकार्यका विषयमा छलफल गरेका थिए।





