होर्मुजमा इरानको अधिकारको सम्मान गर्न चीनको आग्रह

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले होर्मुज जलडमरूमध्य किनारको राष्ट्रका रूपमा इरानको सार्वभौमसत्ता, सुरक्षा र वैध अधिकारको सम्मान तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले बुधबार इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गर्दै यस्तो धारणा राखेका हुन्।
वाङ यीले उक्त जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय नौसैनिक आवागमनको स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति गरिनुपर्ने पनि बताए। उनले वर्तमान अवस्था युद्ध र शान्तिको बीचको सङ्घारमा पुगेको र शान्तिको सञ्झ्याल खुलेको उल्लेख गर्दै युद्धविराम र शान्ति वार्ताको गति कायम राख्न चीनले समर्थन गर्ने बताए।
इरानी विदेशमन्त्री अराघ्चीले वाङ यीलाई इरान-अमेरिका वार्ताको पछिल्लो घटनाक्रम र इरानको धारणाबारे जानकारी गराएका थिए। उनले क्षेत्रीय तनाव कम गर्न चीनले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै शान्ति प्रवर्द्धन र युद्ध अन्त्यका लागि बेइजिङले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरेको बताए।





