रास्वपा संसदीय दलको बैठक आज बस्दै, १२ समिति सभापतिका लागि उम्मेदवार तय गरिने

काठमाडौं, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ। पार्टी स्रोतका अनुसार बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकको मुख्य कार्यसूची संसदीय समितिहरूको सभापतिका लागि पार्टीका तर्फबाट उम्मेदवारहरूको टुङ्गो लगाउने रहेको छ।
सङ्घीय संसद् अन्तर्गत कूल १६ वटा संसदीय समितिहरू रहेका छन्। जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र दुई वटा संयुक्त समिति रहेका छन्।
यसअघि नै राष्ट्रिय सभा अन्तर्गतका चारवटै विषयगत समितिका सभापतिहरूको निर्वाचन सम्पन्न भइसकेको छ। तर, प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र दुईवटा संयुक्त समितिको सभापति चयन हुन बाँकी रहेको छ।
गत चैत २७ गते प्रतिनिधिसभाले विभिन्न विषयगत समितिहरूमा रहने सदस्यहरूको नामावली अनुमोदन गरेको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबारका दिन रिक्त रहेका संसदीय समितिका सभापतिहरूको निर्वाचन गरिने मिति घोषणा गरेका थिए।
संसदीय नियमावली अनुसार सम्बन्धित समितिका कुनै पनि सदस्यलाई सभापति पदमा निर्वाचित गर्नका लागि सोही समितिका एक जना सदस्य प्रस्तावक र अर्को एक जना सदस्य समर्थक रही औपचारिक रूपमा दाबी प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ। रास्वपाको आजको बैठकले यिनै प्रक्रियाका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ।





