९ बैशाख २०८३, बुधबार

प्रमुख प्रतिपक्ष दलहरूमा आन्तरिक कलह चर्कियो : कांग्रेसमा समानान्तर गतिविधि र स्पष्टीकरणको शृङ्खला

एमालेमा नेतृत्व शैलीमा विवाद, राप्रपामा महाधिवेशनको मागसहित भेला

काठमाडौं, — गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपश्चात् प्रमुख प्रतिपक्ष दलहरूको आन्तरिक राजनीति तरंगित बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूमा आन्तरिक कलह, समानान्तर गतिविधि र नेतृत्व शैलीप्रति असन्तुष्टि सतहमा आएको देखिन्छ।

कांग्रेस : पूर्वउपसभापति खड्कालाई सात दिने स्पष्टीकरण

नेपाली कांग्रेसमा संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको दूरी बढ्दै गएको छ। दुवै पक्षले समानान्तर गतिविधिहरू सञ्चालन गरिरहेका बेला संस्थापन पक्षले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले खड्कालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गरेको छ। समितिले तोकिएको समयसीमाभित्र प्राप्त हुने उजुरीमाथि मात्र कारबाही प्रक्रिया अघि बढाइने र त्यसपछि आउने उजुरीहरूमाथि कुनै प्रक्रिया नअघि बढाइने स्पष्ट पारेको छ।

एमाले : थापाको कार्यशैलीप्रति उपाध्यक्ष पौडेल लगायतको असन्तुष्टि

नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेता चयन भएपछि अन्तरसंघर्ष चर्किएको छ। पार्टीका भातृ संगठनका केही पदाधिकारीहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए। तर, कार्यवाहक अध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले उक्त अभियान स्थगित गर्न निर्देशन दिएपछि हाल अभियान रोकिएको छ। हस्ताक्षर अभियानमा संलग्न एक नेताले भने, “नेताहरूले पार्टी समग्र पुनर्गठनको प्रस्ताव ल्याउने र अर्को बैठक नबस्दासम्म पर्खन भनेपछि हस्ताक्षर अभियान स्थगित गरिएको हो।”

गत चैत १४ मा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि थापाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। ओली रिहा भइसके पनि थापा नै कार्यवाहक अध्यक्षको रूपमा कार्यरत छन्। थापाले चैत १८ को संसद बैठकमा निर्वाचन परिणाम र तत्कालीन सरकारप्रति विवादास्पद टिप्पणी गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो। उनको भनाइप्रति उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायतले आपत्ति जनाएका थिए। चैत १९ को सचिवालय बैठकमा थापाले आफ्नो धारणा पार्टीको आधिकारिक लाइन भएको तर्क गरेका थिए। तर, पौडेल, विष्ट र भट्टराईले नेपाली सेना, प्रहरी र कर्मचारीतन्त्रप्रति दलको नेताले राखेको अभिव्यक्तिको खण्डन गर्नुपर्ने माग गरे। सचिवालयले भने सबै सुरक्षा निकाय र कर्मचारीतन्त्रप्रति पूर्ववत् सम्बन्ध कायम रहेको विज्ञप्ति जारी गर्यो।

यसपछि पनि थापा रोकिएनन्। उनले गत बुधबार पोखरामा आयोजित कार्यकर्ता भेलामा वर्तमान सरकारलाई ‘शत्रु’ को संज्ञा दिए। उनले भने, “कम्युनिस्ट आन्दोलनको प्रमुख नेतालाई हाम्रा शत्रुहरूले कैद गरेका छन्। उनीहरूले पूरै सिध्याउन चाहन्छन्।” साथै, उपाध्यक्ष पौडेलले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाएकोमा पनि थापाले कडा प्रतिक्रिया दिए। उनले भने, “पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई यसले एक्पोज गरेको हो।”

यता, उपाध्यक्ष पौडेल निकट नेता खिमलाल भट्टराईले थापाको भाषा शैलीले संसदीय दलको नेताको हैसियत धान्न गाह्रो भएको टिप्पणी गरे। अर्का नेता सुरेन्द्र पाण्डेले माओवादी ‘जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य नभएको बताउँदै ‘जनताको बहुदलीय जनवाद’ (जबज) नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको स्मरण गराए। उपमहासचिव लेखराज भट्टले भने कार्यवाहक अध्यक्ष थापाले पार्टीकै धारणा राखेकाले विवादको कारण नभएको बताए।

यसैबीच, पूर्व राष्ट्रपति विद्या भण्डारीले नयाँ वर्ष २०८३ को अवसरमा दिएको सन्देशमा एमाले लगायत सबै राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर समीक्षा गरी प्राप्त निष्कर्ष आत्मसात गर्नुपर्ने बताएकी छन्। पछिल्लो समय भण्डारीले राजनीतिक भेटघाट तीव्र पारेकी छन्। मदन भण्डारी फाउन्डेसनका सदस्य सचिव भेषराज अधिकारीले पूर्व राष्ट्रपतिको राजनीतिक भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने बताए। गत भदौमा भण्डारीको पार्टी सदस्यता स्थगित भए पनि उनको सक्रियता कायम रहेको उनले बताए।

नेकपा : नेतृत्व हस्तान्तरण र महाधिवेशनको बहस

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा पनि नेतृत्व हस्तान्तरणको विषयमा बहस सुरु भएको छ। केन्द्रीय संयोजन समितिमा आगामी भदौमा महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको नेता अग्नि सापकोटाले जानकारी दिए। उनले गत कात्तिकमा पार्टी एकता भएपछि सबै जनवर्गीय संगठनको समायोजन बाँकी रहेकाले त्यसलाई टुङ्ग्याएर महाधिवेशनको मिति तोकिने बताए। नेकपा वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्रीले महाधिवेशनको मिति तोकिएपछि नेतृत्व हस्तान्तरणबारे औपचारिक बहस हुने बताए। उनले युवा नेतृत्वको पक्षमा अनौपचारिक बहस चलिरहेको र पुरानो पुस्ताको सम्मानजनक व्यवस्थापनसहित नयाँ पुस्तालाई कार्यकारी भूमिकामा ल्याउनुपर्नेमा मत मिल्दै गएको बताए।

राप्रपा : महामन्त्री राणा पक्षको छुट्टै भेला, एक साताभित्र महाधिवेशन मिति माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि आन्तरिक विवाद पुनः सतहमा आएको छ। महामन्त्री धवल शमशेर राणा नेतृत्वको समूहले आइतबार काठमाडौंमा छुट्टै भेला आयोजना गरी एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ। यस विषयमा छलफल गर्न अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी वैशाख १६ गते केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन्।

महामन्त्री राणाले भेलाले अध्यक्ष लिङ्देनलाई तीन बुँदे मागपत्र बुझाएको जानकारी दिए। उक्त मागपत्रमा आगामी जेठ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न, निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न र विधान विपरीत भएका काम कारबाहीको छानबिन गर्न समिति गठन गर्नुपर्ने उल्लेख छ। राणा पक्षले २०७८ को एकता महाधिवेशनपछि नयाँ उमंगका साथ अघि बढेको पार्टी हालै सम्पन्न निर्वाचनसम्म आइपुग्दा नराम्ररी खुम्चिएको जनाउँदै ‘राप्रपा सच्चिने कि सकिने’ भन्ने अवस्था आएको बताएको छ। तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वैशाख १६ मै केन्द्रीय कार्यसमिति बैठक बोलाइएकाले छुट्टै भेलाको औचित्य नरहेको बताए। अध्यक्ष लिङ्देन पक्षले चुनाव बहिष्कार गरेको समूहले छुट्टै भेला गरेको आरोप लगाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button