एमाले कीर्तिपुर नगर कमिटीमा युवा विद्रोह, निर्वाचन हारको नैतिक जिम्मेवारी लिँदै पाँच नेताद्वारा राजीनामा, थपको तयारी

कीर्तिपुर, काठमाडौं, — नेकपा एमाले कीर्तिपुर नगर कमिटीमा युवा पंक्तिको विद्रोह सतहमा आएको छ। गत आम निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद पराजयको नैतिक जिम्मेवारी लिँदै नगर कमिटीका युवा नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा राजीनामा दिने क्रम जारी रहेको छ।
हालसम्म नगर कमिटीबाट राजकमल महर्जन, निकेश महर्जन, रुपेश बास्कोटा, यादवप्रसाद सेढाइँ र सोमप्रसाद मानन्धरले आआफ्नो जिम्मेवारीबाट राजीनामा बुझाइसकेका छन्। उनीहरूका अतिरिक्त अन्य धेरै पदाधिकारी तथा सदस्यहरूले समेत राजीनामाको तयारी गरिरहेको स्रोतले जनाएको छ।
सचिवालय सदस्य यादवप्रसाद सेढाइँले आफ्नो राजीनामापत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सन् २०५४ सालमा लिएको पार्टी सदस्यता समेत खारेज हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट अलग भएको उल्लेख गरेका छन्।
असन्तुष्ट पक्षले नगर कमिटी अध्यक्ष चिनकाजी श्रेष्ठमाथि विना क्षमता नेतृत्व गरेको र सोही कारण चुनावी परिणाम खस्केको गम्भीर आरोप लगाएको छ। अध्यक्ष श्रेष्ठ एमाले नेता सानु श्रेष्ठका भान्जा रहेको र नातावादका आधारमा नेतृत्वमा पुगेको उनीहरूको भनाइ छ।
कीर्तिपुरमा नेकपा एमाले २०७९ सालको स्थानीय तह निर्वाचनयता निरन्तर ओरालो यात्रामा रहेको विश्लेषण गरिएको छ। गत आम निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत जोडबलमा विनोद श्रेष्ठलाई टिकट वितरण गरिएको भन्दै पार्टीका कार्यकर्ताहरू रुष्ट देखिएका छन्। टिकट वितरणमा देखिएको मनोमानी र नातावादले पार्टीको संगठनात्मक संरचनामै प्रश्न उठेको असन्तुष्ट पक्षको भनाइ छ।
राजीनामा दिने क्रम अझै जारी रहने र चाँडै नै नगर कमिटीका थप प्रभावशाली युवा नेताहरूले समेत पार्टी जिम्मेवारीबाट अलग हुने तयारी गरेको बताइएको छ।





