कम्बोडियाबाट ४६ नेपालीको उद्धार गरी स्वदेश फिर्ता, दूतावासद्वारा श्रम स्वीकृतिबिना यात्रा नगर्न आग्रह

बैंकक, थाइल्याण्ड — बैंककस्थित नेपाली राजदूतावासले कम्बोडियाबाट ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको सूचना प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको दूतावासले जनाएको छ। उद्धारपश्चात् उनीहरू सबै स्वदेश फर्किसकेका छन्।
दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी कम्बोडिया पुर्याइने नेपाली नागरिकको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२२ मा यो संख्या बढेर १ हजार ९७७ पुग्यो। सन् २०२३ मा २ हजार ९४० जना कम्बोडिया पुग्दा सन् २०२४ मा यो संख्या ह्वात्तै बढेर ६ हजार ४०४ पुगेको थियो। सन् २०२५ मा भने ९ हजार ६७६ जना नेपाली नागरिक कम्बोडिया प्रवेश गरेको तथ्यांकले देखाएको छ।
यसै सन्दर्भमा बैंककस्थित नेपाली राजदूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकहरूमा जाने नगर्न सबै नेपाली नागरिकहरूलाई अनुरोध गरेको छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परी अवैधानिक रूपमा विदेश पुग्दा ठगी, बन्धक तथा गैरकानुनी गतिविधिमा संलग्न हुन बाध्य पारिने जोखिम रहेको भन्दै दूतावासले सचेत रहन आग्रह गरेको छ।





