९ बैशाख २०८३, बुधबार

काठमाडौं महानगरकी कार्यवाहक मेयर डंगोल र आईजी कार्कीबीच भेटवार्ता, अवैध संरचना हटाउन प्रहरी सहयोगको आश्वासन

काठमाडौं, — काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीसँग औपचारिक भेटवार्ता गरेकी छन्। हिजो भएको सो भेटमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तथा सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा कार्यवाहक मेयर डंगोलले अवैध संरचना हटाउने अभियानमा नेपाल प्रहरीको सहयोग आवश्यक रहेको बताउँदै प्रहरी प्रमुखसमक्ष सहकार्यको प्रस्ताव राखेकी थिइन्। प्रहरी महानिरीक्षक कार्कीले उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ।

कार्यवाहक मेयर डंगोलले भनिन्, “अतिक्रमित सार्वजनिक जग्गाको संरक्षण र सार्वजनिक उपयोगको प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, शहरी व्यवस्थापन, शहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौं। महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले थप बलियो बनाउनेछ। यसले नागरिकहरूले प्रत्यक्ष महसुस गर्ने खालको परिवर्तन ल्याउनेछ।”

जवाफमा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन नेपाल प्रहरी तयार रहेको बताए। उनले भने, “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरका कामहरूमा समन्वय हुनेछ। यसका लागि हामीले समन्वयका निम्ति छुट्टै सम्पर्क अधिकृत (फोकल पर्सन) समेत तोकिसकेका छौं।”

साथै, प्रहरी महानिरीक्षक कार्कीले सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर न्यून जनशक्तिबाटै अधिकतम नतिजा दिने प्रणाली विकास गर्न महानगरपालिकाबाट पनि सहयोगको अपेक्षा गरिएको बताए।

भेटवार्ताका क्रममा लागूऔषध नियन्त्रण, सार्वजनिक स्थलमा धूम्रपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक सङ्केत र ट्राफिक व्यवस्थापन, रात्रिकालीन तथा बिहानी बस सेवाको सुरक्षा, सडक मानवमुक्त अभियान, सडक सुरक्षा तथा समग्र शहरी व्यवस्थापन जस्ता महानगरपालिकाले सञ्चालन गरिरहेका विभिन्न गतिविधिहरूमा प्रहरीको सहभागिता र सहकार्यका सम्भावित पक्षहरूबारे समेत विस्तृत छलफल भएको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button