९ बैशाख २०८३, बुधबार

यूएई जाने यात्रीको राहदानीमा अनधिकृत ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागद्वारा छानबिन सुरु, दोषीमाथि कारबाही हुने

काठमाडौं, — अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका एक नेपाली नागरिकको राहदानीमा नियमविपरीत हस्तलिखित ‘शर्त’ लेख्ने कर्मचारीमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिमा त्यस्तो कार्य गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा एक यात्रीको राहदानीको प्रस्थान छापसँगै हस्तलिखित रूपमा “Employment is strictly prohibited. Visit till” लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। उक्त तस्बिर सार्वजनिक भएलगत्तै सर्वसाधारणले राहदानीजस्तो संवेदनशील सरकारी कागजातमा कर्मचारीको ‘मनपरी’ देखिएको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए। सोही आलोचना र सार्वजनिक गुनासोका आधारमा विभागले तत्काल सम्बन्धित कर्मचारीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो।

विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय छैन। प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको छ।”

अध्यागमन विभागले पछिल्लो समय भिजिट भिसामा विदेश जाने प्रक्रियालाई थप व्यवस्थित र सरलीकृत गरिएको समेत स्पष्ट पारेको छ। नेपाल सरकारको गत कात्तिक १३ गतेको निर्णयानुसार भिजिट भिसामा जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा र दुईतर्फी हवाई टिकट भएमा ‘स्वघोषणा’ गरेर सहज रूपमा जान पाउने व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रेस विज्ञप्तिमा थप भनिएको छ, “नागरिकको बाध्यतालाई भजाएर हुने ठगी र शोषण नियन्त्रण गर्न विभागले नीतिगत सहजता र प्रणालीको आधुनिकीकरण गरिरहेको छ। यस्तो अवस्थामा कर्मचारीले व्यक्तिगत तजबिजीका आधारमा राहदानीमा अनावश्यक कुरा लेख्नु गलत हो।” विभागले यात्रुहरूको आवागमनलाई झन्झटरहित बनाउन र राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको समेत जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button