९ बैशाख २०८३, बुधबार

पार्टी अनुशासन उल्लङ्घनको आरोपमा राप्रपाद्वारा दुई नेतालाई ७२ घण्टे स्पष्टीकरण, जवाफ चित्तबुझ्दो नभए निलम्बन वा निष्कासनको चेतावनी

काठमाडौं, — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लङ्घन गरेको आरोपमा दुई जना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टीको अनुसन्धान तथा अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरूमाथि पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उछाल्ने र अनुशासनको सीमा नाघेको आरोप लागेको छ। विशेषगरी, निर्वाचनका बेला पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा पार्टीप्रति मर्यादाविपरीत टिप्पणी गर्ने जस्ता कार्यहरूलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिएको छ।

पार्टीको अनुसन्धान तथा अनुशासन समितिले ती दुई नेताले पार्टीको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई ७२ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो। यदि पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनीहरूलाई पार्टीबाट निलम्बन वा निष्कासनसम्मको कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button