संसदीय समिति सभापतिका लागि सत्ता र प्रतिपक्षका छुट्टाछुट्टै बैठक जारी, आजै मनोनयन दर्ता हुँदै

काठमाडौं — संसदीय समितिका सभापतिहरूको उम्मेदवार चयनबारे निर्णय लिन सत्तारुढ र प्रतिपक्ष दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन्। सिंहदरबारस्थित सम्बन्धित दलका कार्यालयहरूमा बिहीबार बिहानैदेखि बैठकहरू जारी रहेका छन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहलगायत पार्टीका वरिष्ठ नेता र सांसदहरूको सहभागिता रहेको छ।
यता, विपक्षी दलहरूको पनि सिंहदरबारमै संयुक्त बैठक जारी रहेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसिरहेको उक्त बैठकमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरू समेत उपस्थित रहेको जनाइएको छ।
संसदीय समितिको सभापति पदका लागि आजै मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ। संसद् सचिवालयका अनुसार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
सङ्घीय संसद् अन्तर्गत कूल १६ वटा समितिहरू रहेका छन्। जसमध्ये प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रिय सभातर्फ ४ वटा र २ वटा संयुक्त समिति रहने व्यवस्था छ। यसअघि नै राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन सम्पन्न भइसकेको छ।
यसैबीच, संसद्मा प्रभावशाली मानिने सार्वजनिक लेखा समितिको सभापति पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबी गर्दै आएको छ। लेखा समितिको नेतृत्व प्रतिपक्षी दलले पाउने संसदीय परम्परा रहँदै आए पनि यस विषयमा हालसम्म सहमति जुट्न सकेको छैन। सत्तारुढ रास्वपाले यसबारे गर्ने निर्णयले उक्त समितिको नेतृत्वको भविष्य निर्धारण गर्नेछ।





