निर्वाचनको ‘लज्जास्पद’ पराजयपछि एमालेभित्र पुनर्गठनको बहस तीव्र
विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान जारी, नेतृत्व भने समीक्षामै सीमित

काठमाडौं — गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ‘लज्जास्पद’ नतिजा व्यहोरेपछि नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र रूपमा अघि बढेको छ। यद्यपि, यो बहस हालसम्म कुनै औपचारिक पार्टी कमिटीको एजेन्डा बन्न सकेको छैन र मुख्यतः नेता कार्यकर्ताहरूबीचको आन्तरिक छलफल, संवाद र भेटघाटमा सीमित रहेको छ। अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने सचिवालय बैठकले यस बहसलाई औपचारिकता दिने एमाले नेताहरूको भनाइ छ।
तल्लो तहदेखि नै असन्तुष्टि, पुनर्गठन अनिवार्य भएको ठहर
एमालेका कतिपय जिल्ला कमिटीहरूमा पार्टी पुनर्गठन अनिवार्य भएको निष्कर्षसहितको प्रतिवेदन तयार भइसकेको भए पनि नेतृत्वले त्यसमा औपचारिक छलफल चलाएको छैन। नेतृत्वको कार्यशैली र उपयुक्त निर्णयको अभावमा गत भदौ २३ र २४ को आन्दोलनमा भएको क्षति र त्यसपछि सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले पनि समग्र पार्टी पंक्तिमा उत्साह सञ्चार गर्न नसकेपछि एमालेको वडा तहदेखि केन्द्रसम्मै असन्तुष्टि बढेको आन्तरिक विश्लेषण भइरहेको छ। सोही विश्लेषणका आधारमा पार्टीका कतिपय शीर्ष नेताहरू समेत पार्टी पुनर्गठन अनिवार्य भएको ठहरमा पुगेका छन्।
युवा र बुद्धिजीवीको हस्ताक्षर अभियान, विशेष महाधिवेशनको माग
एमालेका युवा, विद्यार्थी र बुद्धिजीवी नेताहरूले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान समेत सुरु गरिसकेका छन्। सुरुवाती चरणमा यो मागलाई बेवास्ता गर्दै आएका संस्थापन पक्षका कतिपय नेताहरू समेत पछिल्लो समय पुनर्गठनबिना पार्टीको साख जोगाउन नसकिने निष्कर्षमा पुगेका छन्। युवा र विद्यार्थीसहितको पुनर्गठनको माग अनुसार नेतृत्व निर्णयमा पुगेन भने पार्टीमा थप गम्भीर क्षति हुनसक्ने अधिकांश नेता कार्यकर्ताको बुझाइ रहेको छ। यही बुझाइपछि एमाले अध्यक्ष ओली समेत पूर्ववत् अडानबाट पछि हट्ने सङ्केत देखिएको आन्तरिक संवादमा रहेका नेताहरू बताउँछन्।
महासचिव पोखरेलको प्रतिबद्धता : ‘योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ’
अध्यक्ष निकट मानिएका एमाले महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा पार्टीले बेहोर्नु परेको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको बताएका छन्। उनका अनुसार निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ। प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिनेछ। निर्वाचन समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्न तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव समेत सङ्कलन गरिरहेको महासचिव पोखरेलको भनाइ छ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ। निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ।”
नेता खिमलाल भट्टराई : ‘व्यापक पुनर्गठन अपरिहार्य’
पूर्व राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता खिमलाल भट्टराईले महासचिव पोखरेलको पार्टी पुनर्गठन गर्ने प्रतिबद्धताले सिङ्गो एमाले पंक्तिलाई उत्साहित बनाएको बताएका छन्। भट्टराईले भने, “यतिबेला एमालेमा गम्भीर आत्मसमीक्षा र प्राप्त शिक्षाका आधारमा नीति, विधि र संगठनमा व्यापक पुनर्गठन अपरिहार्य आवश्यकता बनेको छ। पुनर्गठनमा जाँदा विग्रहको बाटो र गुटबन्दीको तरिकाबाट होइन, उच्चस्तरको समझदारीबाट हुनुपर्छ।”
पूर्वउपाध्यक्ष पाण्डेद्वारा ‘वाम एकता’ को दौडधुपको खुलासा, सचेत रहन आग्रह
एमालेभित्र पुनर्गठनको चर्चा चलिरहेका बेला कतिपय नेताहरू कम्युनिस्ट एकताको पहलमा समेत जुटेको खुलासा भएको छ। तर, स्पष्ट नीतिबिना गरिने यस्ता एकता दीर्घकालीन नहुने भन्दै त्यसो नगर्न दबाब बढेको देखिन्छ। एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले कतिपय नेताहरू नेतृत्वमाथि सङ्कट आइलाग्यो भन्दै फेरि ‘वाम एकता’ को दौडधुपमा लागेको खुलासा गरेका छन्। यद्यपि, को–को नेता यस दौडधुपमा लागेका हुन् भन्नेबारे पाण्डेले केही खुलाएका छैनन्।
पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?” उनले वाम एकतालाई थाती राखेर पार्टीको पुनर्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु अहिलेको आवश्यकता भएको बताए। “विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,” पाण्डेले भने।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियता बढ्यो, ‘देशको अभिभावक’ बन्न सुझाव
एमाले नेतृत्वमाथि सङ्कटको बादल मडारिएकै बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता समेत बढ्न थालेको छ। यसअघि ११औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूले भण्डारीलाई पार्टीको सङ्कटपूर्ण अवस्थालाई सहज बनाउन भूमिका खेल्न दबाब बढाएसँगै उनको सक्रियता बढेको उनी निकट नेताहरू बताउँछन्। भण्डारीले अध्यक्ष ओली अस्पतालमै रहेका बेला भेटेर सहज निकासका लागि पहल गर्न आग्रह गरेको स्रोतको दाबी छ। केही दिनअघि मात्र भण्डारीले केही बुद्धिजीवी र वरिष्ठ पत्रकारहरूसँग भेटेर ‘के गर्दा उपयुक्त हुन्छ?’ भनी सुझाव मागेकी थिइन्। उक्त भेटमा सहभागी एक वरिष्ठ पत्रकारका अनुसार भण्डारीलाई कुनै एक पार्टीको नभई समग्र देशको अभिभावकको भूमिका निर्वाह गर्न सुझाव दिइएको छ। “उहाँलाई कतिपयले एमालेको आन्तरिक राजनीतिमा जोड्ने गरे पनि उहाँ त्योभन्दा माथि उठ्नुपर्छ भनेर हामीले सुझाव दिएका छौं। उहाँ स्वयं पनि पार्टीको आन्तरिक विषयमा मात्र सीमित नहुने सङ्केत गर्नुभएको छ,” ती पत्रकारले भने।





