हिजबुल्लाहको नयाँ नेताको सन्देश: ‘इरानको बाटो हाम्रो बाटो, प्रतिरोध जारी रहने’

बेरुत – इरानमाथि अमेरिका–इजरायलको सैन्य आक्रमणपछि सिर्जित तनावपूर्ण परिस्थितिमा हिजबुल्लाहले आफ्नो अडान स्पष्ट पारेको छ। संगठनका महासचिव नाइम कासिमले बुधबार इरानको नयाँ सर्वोच्च नेता मुज्तबा खामेनीको चयनप्रति निष्ठा व्यक्त गरेका छन्।

स्थानीय अल–मनार समाचार वेबसाइटले जारी गरेको पत्रअनुसार कासिमले इरानको विशेषज्ञ सभाले मुज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेकोमा स्वागत गरेका छन्। उनले यो चयन अयातोल्लाह रूहोल्लाह खोमेनीले स्थापित र दिवंगत नेता अली खामेनीले निरन्तरता दिएको क्रान्तिकारी बाटोकै निरन्तरता भएको बताए।

कासिमले हिजबुल्लाहले नयाँ नेतृत्वले तथाकथित ‘प्रामाणिक इस्लामिक क्रान्तिकारी मार्ग’ जारी राख्ने आशा राखेको उल्लेख गर्दै संगठन विगतका नेताप्रति जस्तै नयाँ नेताप्रति पनि वफादार रहने प्रतिबद्धता जनाएका छन्। साथै उनले ‘कब्जा र आक्रमण’ विरुद्धको लडाई जारी राख्ने पनि वाचा गरेका छन्।

उल्लेखनीय छ, गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेका थिए, जसमा सर्वोच्च नेता अली खामेनी र इरानका दर्जनौं वरिष्ठ अधिकारीहरू मारिएका थिए। सो आक्रमणपछि इरानको समर्थनमा हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेको थियो, जसको जवाफमा इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा बमबारी सुरु गरेको थियो। हाल यो द्वन्द्व १३ औं दिनमा प्रवेश गरिसकेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button