आईएमएफ स्प्रिङ मिटिङमा गभर्नर पौडेल वासिङ्टन पुगे, अर्थमन्त्रीको भ्रमण अन्तिम समयमा रोकियो

काठमाडौं, वैशाख ३ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को स्प्रिङ मिटिङमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिकाको राजधानी वासिङ्टन डिसी पुगेका छन्। यसअघि उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी हुने कार्यक्रम रहेकोमा उनको पहिलो विदेश भ्रमण अन्तिम समयमा रोकिएको थियो। उनको स्थानमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालाई पठाइएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रायः अक्टोबर महिनामा हुने वार्षिक बैठकमा विश्वका अधिकांश मुलुकका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरू सहभागी हुने गर्दछन्। तर, चौमासिक रूपमा हुने स्प्रिङ मिटिङमा भने नेपालबाट विगतमा एकाध पटकबाहेक सहभागिता नजनाइएको प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतको दाबी छ। राष्ट्र बैंक स्रोतका अनुसार तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल आफ्नै सचिवालयका कर्मचारीहरूको सुझावमा एक पटक स्प्रिङ मिटिङमा सहभागी भएका थिए। त्यसअघि र पछि त्यस्तो बैठकमा नेपालबाट सहभागिता नभएको बुझिएको छ।
पूर्व मुख्यसचिव विमल कोइरालाले दुई साताअघि सामाजिक सञ्जालमा लेख्दै समाचार बन्नु नपर्ने विषय ठूलो समाचार बनेको भन्दै व्यङ्ग्य गरेका थिए। उनले आफू अर्थ सचिव र मुख्यसचिव हुँदा कुनै पनि अर्थमन्त्रीले स्प्रिङ मिटिङमा भाग नलिएको र सेप्टेम्बर-अक्टोबरको वार्षिक बैठकमा मात्र चार सदस्यीय टोली जाने गरेको तथ्य सार्वजनिक गरेका थिए। ती चार जनाको खर्च आईएमएफले नै व्यहोर्ने र सोभन्दा बढी सहभागी भएमा राज्यकोषबाट खर्च गर्नुपर्ने व्यवस्था रहेको छ।
चैत २८ र २९ गते अमेरिका जाने पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरी गभर्नर पौडेल गत सोमबार आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र एक जना निर्देशकसहित वासिङ्टन प्रस्थान गरेका हुन्। बैंकको उच्च स्रोतका अनुसार आगामी हप्ता स्वदेश फर्कने उक्त टोलीलाई बैंकले १५ हजार ६०४ अमेरिकी डलर उपलब्ध गराएको छ। दैनिक भ्रमणभत्ता, पोशाक खर्च, मनोरञ्जन खर्च तथा भैपरी खर्च शीर्षकमा गभर्नर पौडेललाई ६ हजार ५६६ डलर र कार्यकारी निर्देशक खरेललाई ३ हजार ७९७ डलर प्रदान गरिएको छ। गभर्नरलाई बिजनेस क्लासको र अन्य दुई जनालाई इकोनोमी क्लासको हवाइ टिकट उपलब्ध गराइएको छ।
आजको मितिमा काठमाडौं-वासिङ्टन-काठमाडौं रुटको बिजनेस क्लास हवाइ टिकटको न्यूनतम मूल्य ८ लाख ५० हजार रुपैयाँ र इकोनोमी क्लासको प्रतिटिकट २ लाख ४५ हजार रुपैयाँ रहेको छ। टोलीको टिकट खर्चवापत बैंकले १३ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ। यद्यपि, गभर्नर पौडेलको औपचारिक पोशाक राखिएको सुटकेस भने सँगै वासिङ्टन पुग्न नसकेको जानकारी प्राप्त भएको छ।
यसैबीच, गभर्नरसँग गएका कार्यकारी निर्देशक डा. रामशरण खरेल रिक्त दुई डेपुटी गभर्नर पदका लागि मुख्य दाबेदार मानिएका थिए। सरकारले गत साता २०६२ सालमा सेवा प्रवेश गरेका कार्यकारी निर्देशक किरण पण्डितलाई एक डेपुटी गभर्नरमा नियुक्त गरिसकेको छ। पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाका छोरीज्वाइँ समेत रहेका खरेल परिवर्तित राजनीतिक परिस्थितिमा डेपुटी गभर्नर बन्ने प्रयासमा रहेको चर्चा चले पनि गत साताको नियुक्तिमा भने उनी सफल हुन सकेनन्।
स्प्रिङ मिटिङमा विकासोन्मुख र अति कम विकसित मुलुकका मन्त्री तथा गभर्नरहरूको सहभागिता बढेको विषयमा पूर्व गभर्नर महाप्रसाद अधिकारीले भनेका थिए, “मेरो कार्यकालमा चैते बैठकमा सहभागिता जनाइएको थिएन। असोज-कात्तिकको वार्षिक बैठकमा भने अर्थमन्त्रीसहितको टोली जाने चलन निकै पुरानो हो।”





