३ बैशाख २०८३, बिहीबार

‘सङ्घ र प्रदेशबीचका गाँठा फुकाउन सरकार तयार छ’ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच तीन घण्टे अन्तरक्रियात्मक संवाद, औपचारिकतारहित छलफलले मुख्यमन्त्री उत्साहित

काठमाडौं, वैशाख ३ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा लामो प्रत्यक्ष संवाद भएको छ। सङ्घीयता कार्यान्वयनका क्रममा देखापरेका जटिलता र अन्तरसम्बन्धका गाँठाहरू सुल्झाउने उद्देश्यले आयोजना गरिएको उक्त छलफल परम्परागत औपचारिक बैठकभन्दा भिन्न रह्यो। सामान्यतया यस्ता उच्चस्तरीय भेटघाटमा देखिने कडा प्रोटोकल र औपचारिकताको घेरा तोड्दै यो बैठक एक जीवन्त र साझा समाधान खोज्ने मञ्चका रूपमा स्थापित भयो।

प्रधानमन्त्री शाहले बैठकमा अपनाएको अन्तरक्रियात्मक शैलीले मुख्यमन्त्रीहरूलाई चकित मात्र तुल्याएन, उनीहरूमा एउटा नयाँ उत्साह र ऊर्जा समेत सञ्चार गर्यो। छलफलका क्रममा मुख्यमन्त्रीहरूले आ-आफ्ना प्रदेशका समस्या र चुनौतीहरू राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा उठ्ने बित्तिकै बीचमै रोकेर प्रश्न सोध्ने, थप स्पष्टीकरण माग्ने र समाधानका वैकल्पिक उपायहरूमा तत्काल बहस छेड्ने गरे।

प्रधानमन्त्री शाहको यो कार्यमुखी शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला मनले स्वागत गरे। उनीहरूले आफ्ना व्यावहारिक भोगाइ र अप्ठ्याराहरू विना कुनै सङ्कोच राखेका मात्र थिएनन्, आफ्ना कुरा प्रधानमन्त्रीसमक्ष सिधै राख्ने क्रममा उनीहरूबीच एक किसिमको स्वस्थ प्रतिस्पर्धाको वातावरण समेत देखियो। दुवै पक्षबाट बीचबीचमा उठेका जिज्ञासा र तिनको तत्काल दिइएको प्रतिउत्तरले गर्दा तीन घण्टा लामो छलफल अत्यन्तै अर्थपूर्ण र नतिजामुखी बन्न पुग्यो।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूले राखेका गुनासा र समस्याहरूलाई केवल नोट टिप्ने काम मात्र गरेनन्, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई त्यही बैठकमै समाधान गर्ने उपायहरू समेत सुझाए। नीतिगत रूपमा रहेका गाँठाहरू फुकाउनका लागि सङ्घ र प्रदेशबीचको साझा संयन्त्रमार्फत तुरुन्तै कार्य सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ। त्यसैले तपाईंहरूलाई आफैंले छलफलका लागि राजधानी बोलाएको हुँ।”

साथै, प्रधानमन्त्री शाहले प्रदेश सरकारहरूले आफ्नै क्षेत्राधिकारभित्र रहेर तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन आग्रह गर्नुभयो। उनले आगामी बजेट विनियोजनका क्रममा कुनै पनि प्रदेशप्रति विभेद वा पक्षपात नगरिने स्पष्ट पारे।

बैठक सकिएर बाहिरिँदै गर्दा मुख्यमन्त्रीहरूको अनुहारमा सन्तुष्टिको चमक देखिन्थ्यो। उनीहरूले बाहिर सार्वजनिक रूपमा प्रधानमन्त्री शाहबारे सुनिने चर्चा र हल्लाभन्दा ठीक विपरीत उनलाई अत्यन्तै ‘सुन्ने, बोल्ने र तत्कालै बुझ्ने’ व्यावहारिक नेताका रूपमा पाएको प्रतिक्रिया दिए। मुख्यमन्त्रीहरूले यस प्रकारको अनौपचारिक तर नतिजामुखी संवादको शैलीले सङ्घीयताको मर्मलाई आत्मसात गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button