निर्वाचन आचारसंहिता उल्लङ्घन : सिलिगुढी चेकपोष्ट नजिकै ट्याक्सीबाट १० लाख रुपैयाँ नगद बरामद

सिलिगुढी, पश्चिम बङ्गाल — आगामी निर्वाचनको सन्दर्भमा कडा सुरक्षा व्यवस्था र निगरानीबीच निर्वाचन आयोगको टोलीले भक्तिनगर प्रहरी र केन्द्रीय सुरक्षा बलसँगको संयुक्त गस्तीका क्रममा सिलिगुढीस्थित चेकपोष्ट नजिकैको नाका प्वाइन्टमा एउटा ट्याक्सीबाट १० लाख भारतीय रुपैयाँ नगद बरामद गरेको छ।

प्राप्त जानकारी अनुसार निर्वाचन आयोगको उडनदस्ता टोलीले नियमित जाँचका क्रममा उक्त ट्याक्सीलाई रोकी तलासी लिँदा सवारीभित्रबाट ५०० दरका नोटहरूको १० वटा बन्डलमा विभाजित कूल १० लाख रुपैयाँ नगद फेला पारेको हो। उक्त रकमको स्रोत र गन्तव्यबारे चालकले चित्तबुझ्दो जवाफ दिन नसकेपछि अधिकारीहरूले सो रकम जफत गरी थप अनुसन्धान सुरु गरेका छन्।
स्थानीय प्रशासन र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएसँगै अवैध नगद कारोबार, मतदाता प्रलोभन तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि चेकपोष्ट र नाकाहरूमा कडा निगरानी जारी राखेको जनाएको छ। बरामद रकम आयकर विभाग तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीको लागि बुझाइने बताइएको छ।





