सुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ, दुई मोटरसाइकल बरामद

सुनसरी, वैशाख ४ — सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित ताल नजिकबाट गैँडाको खागसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीबाट खटिएको टोलीले बिहीबार राति उक्त कारबाही गरेको हो।
सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीका अनुसार झापाबाट गैँडाको खाग लिएर आइरहेको भन्ने गोप्य सूचनाको आधारमा टोली परिचालन गरी बर्जु–६ ताल नजिकैबाट चार जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूको नाम भने हाललाई गोप्य राखिएको छ। यसको सञ्जाल ठूलो रहेको र थप अनुसन्धान भइरहेकाले उनीहरूको पहिचान सार्वजनिक नगरिएको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





