होर्मुज जलसन्धि सङ्कटबारे रुस र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
दीर्घकालीन स्थायित्वका लागि सबै पक्ष सम्मिलित वार्ताको आवश्यकतामा जोड

मस्को/रियाद, वैशाख ४। रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदबीच अप्रिल १५ तारिखका दिन टेलिफोन वार्ता भएको छ।
दुई विदेशमन्त्रीहरूले अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा सोको प्रतिक्रियास्वरूप तेहरानले चालेका कदमहरू पश्चात् होर्मुज जलसन्धिमा उत्पन्न परिस्थितिबारे गहन रूपमा विचार आदानप्रदान गरे। दुवै पक्षले पर्सियन खाडीका तटीय मुलुकहरूलाई प्रभावित पार्ने सम्पूर्ण शत्रुतापूर्ण कारबाहीहरू, विशेष गरी नागरिक पूर्वाधारहरूमा असर पार्ने गतिविधिहरू तत्काल अन्त्य गरिनुपर्ने आवश्यकतामा पुनः जोड दिए।
यसैगरी, दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा जारी अमेरिका-इरानबीचको राजनीतिक तथा कूटनीतिक प्रयासहरूलाई निरन्तरता दिनुको महत्त्वमा समेत बल दिए।
मन्त्री लाभरोभ र राजकुमार फैसल बिन फरहान अल साउदले क्षेत्रका सबै मुलुकहरूको हितको सन्तुलनको आधारमा दीर्घकालीन स्थायित्व र सुरक्षा सुनिश्चित गर्ने सर्तहरूमा सहमति जुटाउन सम्बन्धित सबै पक्षहरू सहभागी हुने गरी वार्ता सञ्चालन गर्नुपर्ने पक्षमा वकालत गरे।
रुस र साउदी अरब दुवै देश त्यस्तो वार्ताको आयोजनामा योगदान गर्न तयार रहेको समेत वार्ताका क्रममा व्यक्त गरिएको छ।





