पश्चिम एसिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगहरूसँग परराष्ट्र मन्त्रालयको भर्चुअल अन्तरक्रिया सम्पन्न, आर्थिक कूटनीति र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन

काठमाडौं, वैशाख ४ — परराष्ट्र मन्त्रालयले पश्चिम एसिया र अफ्रिका क्षेत्रमा अवस्थित नेपाली कूटनीतिक नियोगहरूसँग आज एक भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सम्बन्धित मुलुकहरूमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले आफ्नो कार्यक्षेत्रको पछिल्लो परिस्थिति, नेपाली नागरिकको सुरक्षा अवस्था, सेवा प्रवाहको स्थिति, अवलम्बन गरिएका नवीन अभ्यासहरू तथा नियोगका प्राथमिकताका विषयहरूबारे मन्त्रालयलाई जानकारी गराएका थिए।

कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाह, परिवर्तित सन्दर्भमा आर्थिक कूटनीतिलाई अगाडि बढाउनुपर्ने आवश्यकता र कार्यकुशलता अभिवृद्धिका लागि प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने विषयमा जोड दिए।

कार्यक्रमको समापन मन्तव्यका क्रममा परराष्ट्रमन्त्री माननीय शिशिर खनालले सुशासन र सुदृढ आर्थिक कूटनीतिमार्फत आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रमुख प्राथमिकताबारे प्रकाश पारे। उनले नवप्रवर्तन र डिजिटलाइजेसनको माध्यमबाट सार्वजनिक सेवा प्रवाहको कुशलता र प्रभावकारितालाई थप अभिवृद्धि गर्न तथा सोही अनुरूप आफ्ना प्रयासहरूलाई केन्द्रित गर्न सम्बन्धित नियोगहरूलाई निर्देशन दिए।

उक्त कार्यक्रम मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्काले सञ्चालन गरेका थिए।





