लेबनन र होर्मुज सङ्कट : संयुक्त राष्ट्रको आपतकालीन अपिल

काठमाडौं, १४ मार्च। संयुक्त राष्ट्रका वरिष्ठ अधिकारीहरूले शुक्रबार लेबननमा इजरायली बमबारीबाट प्रभावित पीडितहरूका लागि तत्काल सहायता र होर्मुज जलडमरूमार्फत मानवीय सामानको सुरक्षित आवागमन सुनिश्चित गर्न अपिल गरेका छन्।

लेबननको जनताप्रति एकता देखाउन आकस्मिक भ्रमण गरेका संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबननमा इजरायली आक्रमणबाट प्रभावित पीडितहरूका लागि ३० करोड ८३ लाख अमेरिकी डलरको तीन महिने सहायता अपिल घोषणा गरेको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिए।

यस अपिलले प्रभावित कमजोर लेबननी नागरिकदेखि विस्थापित सिरियाली, लेबननमा रहेका प्यालेस्टिनी शरणार्थी, सिरियाबाट आएका प्यालेस्टिनी शरणार्थी र आप्रवासीहरूसम्म करिब १० लाख मानिसलाई लक्षित गरेको छ।

महासचिव गुटेरेसले लेबननी राष्ट्रपति जोसेफ आउन, संसदका सभामुख नबिह बेरी र प्रधानमन्त्री नवाफ सलामसँग भेटवार्ता गर्दै दुवै पक्षलाई तत्काल युद्धविराम गर्न र क्षेत्रका नागरिकहरूको ठूलो पीडा रोक्न अपिल गरेको प्रवक्ताले बताए।

यसैबीच, संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार मानवीय मामिला तथा आपतकालीन राहत समन्वयक टम फ्लेचरले होर्मुज जलडमरूमार्फत मानवीय सामानको निर्बाध र सुरक्षित आवागमनका लागि तत्काल अपिल गरेका छन्। उनले कुनै पनि अवरोधले खाद्यान्न, औषधि र अन्य जीवनरक्षक आपूर्तिको मूल्य आकाशिने र यसको सबैभन्दा ठूलो मार कमजोर वर्गमा पर्ने चेतावनी दिए।

यसै साताको सुरुमा अन्तरसरकारी सङ्गठन संयुक्त राष्ट्र व्यापार तथा विकास (अङ्क्टाड) ले होर्मुज जलडमरूलाई “विश्व व्यापारको महत्वपूर्ण मार्ग” भन्दै त्यस हुँदै हुने जहाज आवागमन लगभग ठप्प भएको जनाएको थियो। इन्धन मूल्य आकाशिँदा आपूर्ति शृङ्खलाको ढुवानी लागत बढिरहेको पनि अङ्क्टाडले बताएको छ।

फ्लेचरले भनेका छन्, “भरपर्दो मानवीय आपूर्ति मार्गबिना लाखौं मानिसले जीवनरक्षक सहायता गुमाउने जोखिममा छन्। पूर्वी अफ्रिका र उप-सहारा अफ्रिका जस्ता क्षेत्रमा पुर्याइने खाद्यान्न, औषधि र अन्य आवश्यक आपूर्तिहरूको ढुवानी कठिन र महँगो हुनेछ, त्यो पनि सोमालिया जस्ता देशहरूमा अनिकालको खतरा पहिल्यै देखिसकेको बेला।”

नियमित पत्रकार सम्मेलनमा दुजारिकले जलडमरू बन्द हुँदा मलको मूल्यमा ठूलो वृद्धि हुने सम्भावना रहेको बताए। “हामी तेलमा केन्द्रित हुँदा मलको कुरा प्रायः बेवास्ता हुने गर्छ,” उनले भने।

ओसीएचएले पछिल्लो २४ घण्टामा केरेम शालोम/करेम अबु सलेम नाका हुँदै गरिने अनुरोधित मानवीय आवागमनमध्ये एउटा बाहेक सबै अस्वीकार गरिएको जनाएको छ। “फलस्वरूप, संयुक्त राष्ट्रले इन्धन जम्मा गर्न सकेको छ, तर अन्य कुनै आपूर्ति लिन पाएको छैन,” ओसीएचएले भनेको छ।

रफाह र जिकिम नाकाहरू इरानमाथि आक्रमण सुरु भएदेखि बन्द भएकाले केरेम शालोम/करेम अबु सलेम नाका गाजामा प्रवेशको एकमात्र सञ्चालन नाका हो।

ओसीएचएका अनुसार विश्व स्वास्थ्य सङ्गठनले नाकामा उतारेका तर लिन नदिइएका सामग्रीहरूमा करिब ५० आइसियू बेड र १७० प्यालेट औषधिहरू रहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button