सिक्किमका मुख्यमन्त्रीद्वारा नारी शक्ति वन्दन अधिनियमको समर्थनमा आयोजित र्याली तथा मातातीर्थ औंसीको अवसरमा जारी शुभकामना सन्देश

गान्ताेक सिक्किम – आज सिक्किमभरिका सम्पूर्ण निर्वाचन क्षेत्रहरूको प्रतिनिधित्व गर्दै हाम्रा आदरणीय आमाहरू, दिदीबहिनीहरू र छोरीहरू एकताबद्ध भई नारी शक्ति वन्दन अधिनियमको समर्थनमा र्यालीको आयोजना गरेको देख्दा म अत्यन्तै गौरवान्वित र हर्षित भएको छु। यसले अपार एकता, आत्मीयता र प्रोत्साहनको अनुभूति गराएको छ।
एकताको यो सामूहिक अभिव्यक्तिले हाम्रो राज्यका महिलाहरूको सुदृढ शक्ति, चेतनाको स्तर र दृढ सङ्कल्पको परिचायक हो।

सिक्किम सरकार र यहाँका सम्पूर्ण जनताको तर्फबाट म यस र्यालीका सम्पूर्ण सहभागीहरू एवं सिक्किमको सम्पूर्ण नारी शक्तिलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पवित्र उद्देश्यप्रति तपाईंहरूले देखाउनुभएको सक्रिय सहभागिता र प्रतिबद्धता अत्यन्तै प्रेरणादायी छ। यसले निश्चय नै अझ समावेशी र सशक्त समाजको निर्माणमा योगदान पुर्याउनेछ।
यस महत्त्वपूर्ण पहलको पारित हुनु हाम्रो राष्ट्रमा महिला सशक्तीकरणलाई अगाडि बढाउने दिशामा एक ऐतिहासिक कोसेढुङ्गा हो। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीको दूरदर्शी नेतृत्वमा परिकल्पित यो अधिनियम एक्काइसौं शताब्दीकै एउटा ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ।

आगामी दिनहरूमा पनि यस अभियानले प्रगति, एकता र सफलताको प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछु। तपाईंहरूप्रति कृतज्ञताको भाव व्यक्त गर्दै भविष्यका प्रयासहरूमा निरन्तर शक्ति र सफलताको हार्दिक शुभकामना दिन चाहन्छु।
साथै, आजकै दिन परेको मातातीर्थ औंसीको पावन अवसरमा समेत म तपाईं सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।





