९ बैशाख २०८३, बुधबार

प्रहरीको अर्को गल्ती, बेकसुरलाई पक्राउ गरियाे र थुनुवा पोशाकमा तस्बिर खिचेर सार्वजनिक गरियो

अन्त्यमा नाम जुधेकाे भनेर छाडियाे, ठाकुरको प्रतिष्ठामा लागेको धक्काकाे क्षतिपूर्ति हुन्छ?

काठमाडौं, वैशाख ४ — ‘अपराध नगरे पनि पक्राउ, अपराधी भन्दै पत्रिका भरिभराउ !’ यो पीडा सर्लाहीका ३४ वर्षीय पत्रकार विकासकुमार ठाकुरको हो। प्रहरीले ठूलै अपराधी झैं गरी पक्राउ गरे पनि कसुर नदेखिएपछि छाडिएका ठाकुरको थुनुवा पोशाकको फोटो र भिडियो सार्वजनिक भएको छ। सञ्चारमाध्यमले समेत उनलाई अपराधी ठहर्याउँदै समाचार प्रकाशित गरेपछि उनले गम्भीर मानसिक तनाव भोग्नुपरेको छ भने उनको सामाजिक प्रतिष्ठामा पनि दाग लागेको छ।

गत फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका ठाकुरलाई चैत ४ गते प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, राधेराधेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। उनलाई पक्राउ गर्न दिउँसैदेखि सादा पोशाकका प्रहरी खटिएका थिए। राति साढे ८ बजे घर पुग्नेबित्तिकै पक्राउ पूर्जी नदेखाई प्रहरीले हतकडी लगाएर थिमीस्थित वृत्त पुर्याएको उनी बताउँछन्। त्यहाँ पुगेपछि ‘मलाई किन समातेको ?’ भनी प्रश्न गर्दा प्रहरीले कुनै जवाफ नदिएको उनको भनाइ छ।

त्यसपछि उनलाई प्रहरी वृत्त कोटेश्वर र पछि जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइयो। भद्रकालीमा पनि सोही प्रश्न दोहोर्याउँदा प्रहरीले ‘माथिको आदेश’ भन्ने दुई शब्द मात्र भनेको ठाकुर बताउँछन्। त्यहाँ प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले उनको हातमा जरुरी पक्राउ पूर्जी थमाइदिए। उक्त पूर्जीमा ‘आपराधिक विश्वासघात गर्न नहुने कसुरको अनुसन्धानको सिलसिलामा’ पक्राउ गरिएको उल्लेख छ। आफूले त्यस्तो कुनै कसुर नगरेको भन्दै उनले भाइ र श्रीमतीको जिम्मा लगाएर रिहा गरिदिन आग्रह गरे पनि इन्स्पेक्टर श्रेष्ठले अस्वीकार गरे।

भोलिपल्ट उनलाई थुनुवाको टिसर्ट र हतकडी लगाएर थुनुवा कक्षमा राखियो। सोही क्रममा वरिष्ठ सई माधव डाँगीले छेकिएर थुनुवा पोशाकमा उनको भिडियो बनाएको र परिसर प्रमुखको गाडीपछाडि लुकेर झण्डै तीन दर्जन फोटो तथा भिडियो खिचेको आरोप छ। तर, पछि अपराध गरेको भनिएको व्यक्तिसँग उनको औंठाछाप नमिलेपछि उनलाई छाडियो। घर फर्किएपछि उनको सोही फोटोसहित गत सोमबार एक साप्ताहिक पत्रिकामा ‘कूटनीतिक पहुँच देखाएर ठगीधन्दा, मलंगवाका विकास ठाकुर फेरि पक्राउ’ शीर्षकको समाचार प्रकाशित भयो।

त्यसपछि ठाकुर झसङ्ग भए। उनले भने, ‘मलाई थुनुवा कक्षमा लगिसकेपछि नाम जुधेको थाहा भयो। अनि उहाँहरूले फिङ्गर प्रिन्ट लिनुभयो, त्यो मिलेन। त्यसपछि मलाई छाडियो। तर, मेरो फोटोसहितको समाचार पत्रिकामा छापियो। प्रहरी कार्यालयबाट व्यक्तिको फोटो कसरी बाहिर पठाइयो ? यो गम्भीर विषय भएकाले अनुसन्धान गर्नुपर्ने मेरो माग छ।’

प्रहरीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका उनले साथीहरूको सुझावमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई भेटेर आफ्ना कुरा राखे। ठाकुरका अनुसार एसएसपी थापा घटना सुनेर आश्चर्यचकित भएका थिए र छानबिन गर्ने प्रतिबद्धता जनाए। उनले अस्ति बुधबार परिसरमा घटनाबारे छानबिन माग गर्दै लिखित निवेदनसमेत दिएका छन्।

निवेदनमा भनिएको छ, ‘मैले कुनै अपराध नै नगरेको अवस्थामा मलाई जबरजस्ती थुनेर मेरो सामाजिक प्रतिष्ठा र आचरणमाथि कुरा उठाएर निरीक्षकले खिचेको फोटो आउनु, म कुनै ठूलो अपराधी नभए पनि मेरो घरअगाडि घण्टौं प्रहरी बसेर मलाई गिरफ्तार गरिनु प्रथम दृष्टिमै प्रहरी निरीक्षक र वरिष्ठ सई डाँगीले कसैको दबाबमा यो काम गरेको महसुस गरेको छु।’ उनले घटनाको सिसीटिभी फुटेज निकाल्न पनि माग गरेका छन्।

ठाकुरले प्रहरीलाई सात दिनको समयावधि दिएको बताउँदै सो अवधिभित्र कारबाही नभए अदालत जाने चेतावनी दिए। ‘प्रहरीलाई छानबिन गर्न सात दिनको समय दिएको छु। तबसम्म उहाँहरूमाथि कारबाही भएन भने अदालतको ढोका ढक्ढकाउन जान्छु,’ उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button